बिजुली उत्पादन र सिंचाइका लागि सरकारले अघि बढायो ५ ठूला बहुउद्देश्यीय  परियोजना

जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयलले सुनकोसी मरिन डाइभर्सन, कालीगण्डकी तिनाउँ डाइभर्सन, तमोर चिसाङ डाइभर्सन, माडी दाङ डाइभर्सन र नौमुरे बहुउद्देश्यीय आयोजना अघि बढाएको हो ।

काठमाडौं । सरकारले जलविद्युत् उत्पादनका अतिरिक्त सिँचाइका लागि बृहत् लगानीका विभिन्न ५ ठूला बहुउद्देश्यीय परियोजनाको काम अघि बढाएको छ ।

जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालयलले सुनकोसी मरिन डाइभर्सन, कालीगण्डकी तिनाउँ डाइभर्सन, तमोर चिसाङ डाइभर्सन, माडी दाङ डाइभर्सन र नौमुरे बहुउद्देश्यीय आयोजना अघि बढाएको हो ।

सुनकोसी नदीको पानीलाई सुरुङमार्फत मरिन नदीमा खसाली सर्लाही, रौतहट र महोत्तरी जिल्लाका करिब १ लाख २२ हजार हेक्टरमा थप सिँचाइ सेवा उपलब्ध गराउन सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम अघि बढेको छ । सुनकोसीको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्य सम्पन्न हुने क्रममा रहेको ऊर्जामन्त्री वर्षमान पुनले बताए ।

मन्त्री पुनले आयोजनाको वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) को काम भइरहेको जानकारी गराएका छन् । सुनकोसी कमलाको तुलनात्मक अध्ययन भएको र आयोजनाको मुहान (हेडवक्र्स) न्यूमेरिकल–फिजिकल मोडलिङ कार्यका लागि खरिद प्रकिया अगाडि बढाइएको मन्त्रीले जानकारी दिए ।

यसैगरी मन्त्रालयले कालीगण्डकी नदीको पानीलाई सुरुङमार्फत तिनाउँ नदीमा खसाली रुपन्देहीको ७० हजार ९०० हेक्टर र कपिलवस्तुको ३५,७०० हेक्टर गरी १ लाख ६ हजार ६०० हेक्टर जमिनमा भरपर्दो सिँचाइ सेवा उपलब्ध गराउन कालीगण्डकी तिनाउँ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम अघि बढाएको छ । आयोजनाको विस्तृत अध्ययनको फिल्ड रिपोर्ट प्राप्त भएको र भौगर्भिक अध्ययन पनि अघि बढेको छ ।

तमोर चिसाङ डाइभर्सन आयोजनाको अध्ययनका क्रममा कन्काई बहुउद्देश्यीय आयोजनासँग तुलनात्मक अध्ययन भइरहेको मन्त्रीले बताए । परियोजनाको काम प्रारम्भिक चरणमा छ ।

दाङ उपत्यकामा सिँचाइ उपलब्ध गराउन माडी दाङ डाइभर्सन आयोजनाका लागि पूर्व सम्भाव्यता अध्ययन भई विकल्पहरुसहित पुनरवलोकन गर्ने कार्य भइरहेको छ । नौमुरे बहुउद्देश्यीय आयोजनाबाट २७७ मेगावाट जलविद्युत् र ३१ हजार हेक्टर क्षेत्र सिँचाइ गर्ने उद्देश्यले अध्ययनको काम अघि बढेको छ । सम्भाव्यता अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कनअन्तर्गत फिल्ड अन्वेषण कार्य भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

उता भेरी बबई डाइभर्सनको निर्माण भइरहेको छ । आयोजाको १२ किलोमिटर लामो सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । चैतभित्र सुरुङको काम सम्पन्न हुने आयोजनाले जानकारी गराएको छ । यो आयोजनामा बाँके र बर्दियामा ६० हजार हेक्टरमा सिँचाइका अतिरिक्त ४८ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य छ ।