क्रमागत योजनामा परेको भवनलाई थप बजेट व्यवस्था गरेर आउँदो आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
बागलुङ । काठेखोला गाउँपालिका–३ मा धम्जा स्वास्थ्यचौकी, सामुदायिक भवन र आलु भण्डारण केन्द्र निर्माण सुरु गरिएको छ । धम्जा, देउरालीमा निर्माण हुने स्वास्थ्यचौकी १८ महीनाभित्र पूरा गरिने भएको छ । एक करोड ४५ लाख ७६ हजारको लागतमा बन्ने स्वास्थ्यचौकी निर्माणको जिम्मा जुम्ली निर्माण सेवाले पाएको छ ।
यस्तै, सायकटेरामा ५० लाख रुपैयाँको लागतमा बन्ने धम्जा बहुउद्देश्यीय सामुदायिक भवन चालू आवमा भुइँतला मात्र निर्माण गरिने भएको छ । क्रमागत योजनामा परेको भवनलाई थप बजेट व्यवस्था गरेर आउँदो आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । दुईतले अत्याधुनिक भवन निर्माण सम्पन्न गर्नको लागि एक करोड ८७ लाख रुपैयाँ लागत तोकिएको छ । भवनमा सात कोठा, चार शौचालय, हल, चमेनागृहसहितका संरचना बन्नेछन् ।
सायकटेरामा सञ्चालित सामुदायिक स्वास्थ्य एकाइलाई सोही भवनबाट सञ्चालन गरिने योजना छ । यस्तै असौजेमा बन्ने आलु भण्डारण एवं चिस्यान केन्द्रलाई गाउँपालिकाले चालू आवमा आठ लाख बजेट मात्र छुट्याएको छ । किसानले उत्पादन गरेको आलुको बिउ संरक्षणका लागि चिस्यान केन्द्र बनाउन लागिएको वडाध्यक्ष यामबहादुर श्रीसले बताए ।
गाउँपालिकाले पनि क्रमागत योजनामा पारेर बजेट थप्दै जाने प्रतिबद्धता जनाएको छ । धम्जाको असौजे र ओखले क्षेत्रलाई गाउँपालिकाले आलुको ‘पकेट’ क्षेत्र घोषणा गरेको छ । रासस