बैंकको रुपन्देहीस्थित जोगीकुटी शाखामा प्रबन्धकको रुपमा कार्यरत रामजीत राईकी श्रीमती ज्ञानकुमारीलाई संस्थाका अध्यक्ष कृष्ण खाँणले चेक हस्तान्तरण गरेका हुन् ।
वालिङ । स्याङ्जाको कालिका माइक्रो क्रेडिट डेभलपमेण्ट बैंकले मृतक कर्मचारीको परिवारलाई ७ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको रुपन्देहीस्थित जोगीकुटी शाखामा प्रबन्धकको रुपमा कार्यरत रामजीत राईकी श्रीमती ज्ञानकुमारीलाई संस्थाका अध्यक्ष कृष्ण खाँणले चेक हस्तान्तरण गरेका हुन् ।
‘शाखा प्रबन्धकमा कार्यरत रहँदा दुई महीनामै कार्यालय आउँदा पूर्वपश्चिम राजमार्गको बर्दघाटमा सवारी दुर्घटनामा परी रामजीतको निधन भएको थियो ’, संस्थाका अध्यक्ष खाँणले भने ‘परिवारलाई ठूलो क्षति अनि पीडा परेकाले राहतस्वरुप आर्थिक सहयोग गरेका हौँ ।’ मृतक राईको परिवारलाई यसअघि संस्थामा कार्यरत कर्मचारीले एक लाख ७५ हजार सहयोग गरेको संस्थाका कार्यकारी अधिकृत मीन बोहोराले बताए ।
‘संस्थाको सञ्चालक समितिको बैठकले मृतककी श्रीमती ज्ञानकुमारीलाई कर्मचारीको रुपमा नियुक्ति दिने निर्णय गरेको छ ।’ साढे चार वर्षको छोराको शिक्षामा उक्त रकम खर्च गर्ने योजना बनाएको ज्ञानकुमारीले बताइन् । विसं २०६७ भदौमा स्थापना भएको बैङ्कको हाल २५ जिल्लामा ७० वटा शाखा रहेका छन् भने ३५ हजार ग्राहक यसमा आबद्ध छन् ।