बैङ्क तथा वित्तीय संस्था धमाधम मर्जर र प्राप्तिमा, एक सातामा १० ओटाले गरे एमओयू

नेपाल इन्भेष्टमेन्ट बैङ्कले जेविल्स फाइनान्स लिमिटेडलाई र ग्लोबल आईएमई बैङ्कले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । ग्लोबल आईएमईले प्राप्ति गर्ने भएपछि हाथवेले ५४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन रद्द गर्ने भएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले दवाव दिन थालेपछि बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभिने (मर्जर) र प्राप्ति (एक्विजिसन) मा जान थालेका छ । एक साताको अवधिमा १० बैङ्क तथा वित्तीय संस्थाले मर्जर र एक्विजिसनमा जान समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले मर्जर र प्राप्तिमा गएका बैङ्क तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरिसकेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैङ्कले जेविल्स फाइनान्स लिमिटेडलाई र ग्लोबल आईएमई बैङ्कले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । ग्लोबल आईएमईले प्राप्ति गर्ने भएपछि हाथवेले ५४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन रद्द गर्ने भएको छ ।

यस्तै साइन रेसुङा डेभलपमेन्ट बैङ्क र पूर्णिमा विकास बैङ्कले मर्जरमा जान एमओयू गरेका छन् । यी दुई बैङ्क मर्जर भएपछि राष्ट्रिय स्तरको विकास बैङ्क बन्ने छन् । नागरिक लघुवित्त वित्तीय संस्था लिमिटेड र वोमी माइक्रोफाइनान्स लिमिटेड, तिनाउ डेभलपमेन्ट बैङ्क र मिसन डेभलपमेन्ट बैङ्कबीच एमओयू भएको छ ।

नाफा बढाउन, खरो प्रतिस्पर्धामा उत्रिन, पुँजीगत आधार बलियो बनाई कर्जा विस्तार, सेयरको बुक भ्यालु बढाउन मर्जर प्राप्तिमा गएको बैङ्क तथा वित्तीय संस्था मर्जरमा गएका हुन् । बैङ्क तथा वित्तीय संस्थाको संख्या बढी भएको भन्दै केन्द्रीय बैङ्कले २०७२ को मौद्रिक नीतिमा चुक्तापुँजी ४ गुणासम्म बढाएको थियो ।

वाणिज्य बैङ्कले बोनस सेयर वितरण र हकप्रद सेयर निष्कासन गरेर पुँजी ८ अर्ब रुपैयाँ पुर्याइसकेका छन् । यसबीचमा केही विकास बैङ्क र वित्त कम्पनी मर्जरमा गएका छन् ।

केही साताअघि अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा बैङ्क तथा वित्तीय संस्थाको संख्या धेरै भएकाले मर्जर र प्राप्तिमा जान सुझाएका थिए ।

२०७५ माघसम्म १६४ ओटा बैङ्क तथा वित्तीय संस्था मर्जर र प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १२२ ओटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४२ संस्था कायम भएका छन् ।