हवाई सुरक्षामा ध्यान देऊ

नेकपाका नेतासमेत रहेका र दुर्घटना भएको जिल्लाबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद योगेश भट्टराईले यसअघि पाथीभरा जाँदा ५ जना मात्रै जाने गरेको तर विशिष्ट पाहुना भएको हेलिकप्टरमा भने ७ जना किन भनेर प्रश्न उठाएका छन् । अध्ययन समितिले यसको पनि जवाफ खोज्ला नै ।

२०७५ फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेपछि नेपालको हवाई उडानबारे पुनः बहस सुरु भएको छ । सरकारले अधिकारीसहितको हेलिकप्टर दुर्घटनाका विषयमा अध्ययन गर्न पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको छ । यो दुर्घटनाबारे छानबिन समितिले आफ्नो अध्ययन निष्कर्ष सार्वजनिक गर्ला नै । तर प्रश्न उठ्छ, पटकपटक किन एकै प्रकृतिको दुर्घटना हुन्छ ।

नेकपाका नेतासमेत रहेका र दुर्घटना भएको जिल्लाबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद योगेश भट्टराईले यसअघि पाथीभरा जाँदा ५ जना मात्रै जाने गरेको तर विशिष्ट पाहुना भएको हेलिकप्टरमा भने ७ जना किन भनेर प्रश्न उठाएका छन् । अध्ययन समितिले यसको पनि जवाफ खोज्ला नै ।

नेपालमा हवाई दुर्घटना भएको यो पहिलो होइन । अन्तिम होस् भनेर कामना गर्नुबाहेक हामीसँग विकल्प पनि छैन । १३ वर्षअघि (२०६३ भदौ ७ गते) यस्तै भीआईपी बोकेका बहालवाला वन राज्यमन्त्री गोपाल राईसहित नेपालको संरक्षण क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्तिहरु गरी २४ जनाको ताप्लेजुङकै घुन्सामा मृत्यु भएको थियो । त्यसो त दिनहुँजस्तो सडक दुर्घटना पनि भइरहन्छ । तर, ठूला सडक दुर्घटनाबाहेक दिनहुँ हुने सडक दुर्घटनाप्रति सरकारको ध्यान जाँदैन । ज्यान सबैको उस्तै भए पनि हवाई दुर्घटना र सडक दुर्घटनालाई फरक व्यवहार विश्वभर नै हुने गरेको छ । मानवीय संवेदनाका हिसाबले दुर्घटना उस्तै भए पनि आर्थिक र सुरक्षाका हिसाबले हवाई दुर्घटनालाई बढी प्राथमिकता दिइन्छ ।

नेपालमा हवाई दुर्घटनाको इतिहास हेर्ने हो भने विगत ७० वर्षमा ५५ हवाई दुर्घटना भएका छन् । यसबाट कम्तीमा ७ सय ३८ जना व्यक्तिको निधन भएको छ । अमेरिकाकेन्द्रित अन्तर्राष्ट्रिय हवाई सुरक्षा सञ्जाल (एभिएसन सेफ्टी नेटवक्र्स–एएसएन)का अनुसार २००६ देखि २०१६ का बीचमा १ सय १७ जनाको मृत्यु भएको छ । जब कि अघिल्लो दशकमा जम्मा १ सय ३ जनाको मृत्यु भएको छ ।

विश्वभर यातायात क्षेत्रमा सबैभन्दा सुरक्षित यात्राका रुपमा हवाई यात्रालाई लिइन्छ । हवाई दुर्घटना विश्वभर नै भइरहेका छन् । यस्ता दुर्घटना जहाँ भए पनि विश्वको ध्यान एकीकृत गरेको पाइन्छ । तर, नेपालमा भइरहेका हवाई दुर्घटनाले विश्वबजारमै बढी चर्चा पाएको आभास भने मिल्छ । यस्तो हुनुमा विश्वको ध्यान नेपालमाथि बढी नै छ । विश्वका उत्कृष्ट पर्यटकीय स्थल तथा विश्वभरका पर्यटक नेपाल आउने र हवाईमार्गमार्फत नै कतिपय क्षेत्रको अवलोकन गर्ने भएकाले पनि विश्वभर नेपालमा हुने हवाई दुर्घटनाले बढी स्थापन पाउने गर्छ । कतिपयले यसलाई नकारात्मक रुपले व्याख्या गर्ने गर्छन् भने कतिपयले भने उच्च दरमा भइरहेको हवाई दुर्घटनाले के नेपाल साच्चिँकै हवाई यात्राका लागि असुरक्षित क्षेत्र हो त ? भन्ने ढङ्गले प्रश्न उठाइरहेको पाइन्छ ।

पटकपटकका यस्ता दुर्घटनाले नेपाली आकाश तुलनात्मक रुपमा असुरक्षित महसुस हुन पुगेको मात्रै छैन, यस्ता दुर्घटना मानवीय गल्तीका कारण मात्रै भइरहेका छन् कि भौगोलिक अवस्थितिका कारण भन्ने प्रश्न पनि त्यत्तिकै बलियोसँग अघि आएको छ । त्यसैगरी कतै नेपालको हवाई उद्योग प्रविधिका हिसाबले पनि अद्यावधिक छैन कि भन्ने अर्को प्रश्न सँगै आएको छ । पटकपटकका यस्ता दुर्घटनामा सरकारले घट्नैपिच्छे अध्ययन तथा जाँजबुझ समिति गठन गर्ने र समितिले केही न केही कामचलाउ हिसाबले प्रतिवेदन दिने गरेको हो वा त्यस्ता अध्ययन समिति वास्तविक समस्या दिएर पनि उड्डयन क्षेत्रले त्यसलाई कार्यान्वयन गर्न नसकेको हो भन्ने अर्को गम्भीर प्रश्न पनि सँगै लिएर आएको छ । यी प्रश्नको जवाफ खोजिनु आवश्यक छ । र आगामी दिनमा यस्ता दुर्घटना हुनै नदिनेतर्फ पनि नलागी हुँदैन ।

 क्यापिटल बिजनेस म्यागजिनबाट