जेठभित्र जनकपुर—जयनगर रेल सञ्चालन हुने

जयनगर—जनकपुर—बर्दिबास ६९ किलोमिटरमध्ये जयनगर—जनकपुरको ३४ किलोमिटरमा रेल सेवा सञ्चालनमा आउने भएको हो ।

काठमाडौं । आगामी जेठभित्र जयनगरदेखि जनकपुरसम्म रेल सञ्चालनमा आउने भएको छ । जयनगर—जनकपुर—बर्दिबास ६९ किलोमिटरमध्ये जयनगर—जनकपुरको ३४ किलोमिटरमा रेल सेवा सञ्चालनमा आउने भएको हो ।

उक्त समयसीमा भित्र रेल सञ्चालनमा ल्याउन नेपाल र भारतबीच (जीटुजी) प्रणालीमार्फत खरिद गर्ने सहमति भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । जयनगर— जनकपुर खण्डमा रेलमार्ग निर्माण यसअघि नै तयार भइसकेको छ ।

मन्त्री रघुबीर महासेठले रेल खरिदका लागि भारत सरकारको स्वामित्व रहेको रेल्वे कम्पनीसँग २ सेट ‘डेमो ट्रेन’ रेल खरिद गर्न स्वीकृती भइ पेश्की भुक्तानीको चरणमा अघि बढेको बताए । उनले दुइ महिनाभित्र रेल खरिद गरी तत्काल सञ्चालनमा ल्याइने गरी भारतीय रेलवे कम्पनीसँग सहमति भएको बताए ।

सरकारले १ अर्ब रुपैयाँ खर्चेर जयनगर—कुर्थामा आफ्नै रेल सञ्चालन गर्ने गरी योजना अघि बढाएको छ । आगामी ४ महिनाभित्र ३४ किलोमिटर दूरीको जयनगर—कुर्थामा रेल सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो ।

सरकारले आफ्नै स्वामित्व हुने गरी रेल खरिदको निर्णय यसअघि नै भारतीय रेल्वे कम्पनीसँग स्वीकृती गरिसकेको रेल विभागका सिनियर डिभिजन इन्जिनियर तथा सूचना अधिकारी अमन चित्रकारले बताए ।

रेल खरिदका लागि झन्डै १ अर्ब रुपैयाँ लाग्ने मन्त्रालयको भनाई छ । यो रेल सेवा डिजेल इलेक्ट्रिक मल्टिपल युनिट मोडेलको हुनेछ । यसअघि सन् २०१२ मा सञ्चालनमा रहेको रेल पुनः ७ वर्षपछि सञ्चालनमा आउने छ । जयनगर—बर्दिबास ६९ किमी रेल सञ्चालनका लागि १० अर्ब रुपैयाँ खर्च गर्ने योजना बनाएको रेल विभागले जनाएको छ ।

जयनगर—कुर्था खण्डमा आवश्यक पूर्वाधार बनिसकेका छन् । रेल स्टेसन भवन, कर्मचारी क्वार्टर, पुल निर्माण, ट्रयाकबेल्ट तथा स्टक्चर निर्माणको काम यसअघि नै सम्पन्न भइसकेका छन् ।

यसअघि कात्तिक २०७५ मै जयनगर—कुर्थामा रेल सेवा सञ्चालन गर्ने लक्ष्य थियो । तर, रेल खरिद प्रक्रिया र आवश्यक पूर्वाधार निर्माण गर्नुपर्दा ढिलाई भएको रेल विभागले जनाएको छ ।