रुपन्देहीमा १७ र १० अर्ब लागतका दुई ठूला आयोजनाको भोलि प्रधानमन्त्रीले शिलान्यास गर्ने

रुपन्देहीमा स्थापना हुने सरकारी मेडिकल कलेजको कार्यालय र पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको प्रधानमन्त्रीले शिलान्यास गर्न लागेका हुन् ।

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली रुपन्देहीमा सुरु हुन गइरहेका दुई ठूला योजनाको प्रारम्भ गर्न गर्ने भएका छन् । रुपन्देहीमा स्थापना हुने सरकारी मेडिकल कलेजको कार्यालय र पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको प्रधानमन्त्रीले शिलान्यास गर्न लागेका हुन् ।

आयोजनाको प्रधानमन्त्री ओलीले शुक्रबार बिहान ११ बजे तिलोत्तमा नगरपालिका वडा नम्बर १ स्थित नयाँ मिलमा मेडिकल कलेजको कार्यालयको उद्घाटन गर्ने कार्यक्रम रहेको कार्यालय प्रमुख मानबहादुर घिंमिरेले जानकारी दिए ।

यस्तै, शुक्रबार नै प्रधानमन्त्री ओलीले बुटवल–नारायणगढ सडकखण्डको स्तरोन्नति गर्ने आयोजनाअन्तर्गत बुटवल उपमहानगरपालिका वडा नम्बर ८ स्थित बुटवल मण्डप नजीकै अपरान्ह १२ः३० मा शिलान्यास गर्नुहुने कार्यक्रम रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवम् सांसद बिष्णु पौडेल अर्थमन्त्री हुँदा सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तब्यमार्फत रुपन्देहीमा सरकारीस्तरको मेडिकल कलेज स्थापना गर्ने योजना अघि सारेका थिए । सोही कार्यक्रम अनुसार आयोजनाहरु निर्माण हुन लागेका हुन् । यस्तै, बुटवल–नारायणगढ सडकखण्ड पनि नेता पौडेलकै पहलमा स्तरोन्नतिको सम्भाव्यता अध्ययन भएको हो ।

प्रधानमन्त्रीले शुक्रबार शिलान्यास गर्ने उक्त आयोजनाअन्तर्गत बुटवलदेखि नारायणगढसम्मको ११३ किलोमिटर सडकको स्तरोन्नति आगामी साढे तीन वर्षभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको आयोजनाको पश्चिम खण्ड प्रमुख इन्जिनीयर सुरेश न्यौपानेले जानकारी दिए । उक्त सडक विस्तार भएपछि यात्रा दूरी अहिलेकोबाट झण्डै आधा घट्ने छ । बुटवलबाट नारायणगढसम्मको दूरी पार गर्न अहिले करीव तीन घण्टा लाग्छ । उक्त सडकको स्तरोन्नति भई चार लेन बनेपछि कम्तीमा १ घण्टा ३० देखि एक घण्टा ५० मिनेटभित्रै छिचोल्न सकिने छ ।

एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण ८५ प्रतिशत र नेपाल सरकारको १५ प्रतिशत लगानीमा झण्डै १७ अर्बको लागतमा सडक स्तरोन्नतिको काम हुनेछ । यसका लागि सडक विभागअन्तर्गतको एडीबी सडक निर्देशनालयले सडक स्तरोन्नतिका लागि कम रकम कबोल गर्ने चाइना स्टेट कन्स्ट्रक्सन कम्पनीसँग सम्झौता गरेर काम अघि बढाएको छ ।

बुटवल–नारायणगढ सडक स्तरोन्नतिको काम दुई खण्डमा हुनेछ । पहिलो खण्डमा पूर्वी नवलपुरको गैंडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दोस्रोमा दाउन्नेदेखि बुटवल राजमार्ग चौराहासम्मको ४८ किलोमिटरको काम हुनेछ । पहिलो खण्डका लागि निर्माण कम्पनीले ९ अर्ब १३ करोड रुपैयाँ र दोस्रो खण्डका लागि पनि सोही कम्पनीले ७ अर्ब ८६ करोड रुपैयाँको आर्थिक प्रस्ताव गरेअनुसार सम्झौता सम्पन्न भएको इन्जिनीयर न्यौपानेले बताए ।

सम्झौताअनुसार बुटवल–नारायणगढ सडकखण्डमा मर्मत सम्भारको काम चार वर्षसम्म ठेक्का लिएको कम्पनीले नै गर्नेछ । यसअघि सडक निर्माण गरेको एक वर्षसम्म मात्रै सडकको मर्मत सम्भार ठेक्का लिएको कम्पनीले गर्ने प्रचलन थियो ।

उक्त सडकखण्डलाई दुई लेनबाट विस्तार गरेर चार लेनको बनाइने छ । सडकको दुई/दुई लेनको बीचको भाग हरियाली बनाउने गरी योजनाको नक्शाङ्कन गरिएको छ । तीन मिटरको यो भागमा बिरुवा रोपिने छ । विस्तारित सडकको दुईतर्फ ७/७ मिटरको हुनेछ । एउटा लेन ३.५ मिटरको हुनेछ । उक्त सडकको झण्डै २८ किलोमिटर क्षेत्रमा मानव वस्ती रहेका ठाउँहरुमा सार्वजनिक सवारीलाई यात्रु ओराल्न र चढाउन दिने गरी नक्शाङ्कन गरिएको छ । तर, यसै सडकको दाउन्नेको उकालो र ओरालो रहेको झण्डै १२ किलोमिटर सडकखण्ड भने तीन लेनको मात्रै हुनेछ । तीनमध्ये उकालोतर्फ दुई लेनको हुनेछ भने ओरालोतर्फ जाने सवारीले एक लेन मात्रै प्रयोग गर्न पाउने छन् ।

हरेक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज राख्ने सरकारको नीतिअनुसार तिलोत्तमामा प्रदेश ५ स्तरीय मेडिकल कलेज स्थापना हुन लागेको हो । तिलोत्तमा नगरपालिका वडा नम्बर १ नयाँ मिलदेखि झण्डै ५०० मिटर पूर्व प्यारामाउन्ट चोकमा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना भएको छ ।

प्रस्तावित मेडिकल कलेजका लागि वडा नं १ र ८ को वन क्षेत्रअन्तर्गतको झण्डै २०० बिघा जमीनको स्वामित्व हस्तान्तरण भइसकेको छ । हाल मासिक ३५ हजार रुपैयाँ भाडा तिर्ने गरी स्थापना भएको कार्यालयमा आयोजना प्रमुखसहित उपसचिव, शाखा अधिकृत, इन्जिनीयर, लेखा अधिकृत, चालक र कार्यालय सहयोगीसहित सातजना कर्मचारीको दरबन्दी रहेको उपसचिव मानबहादुर घिमिरेले बताए ।

आयोजनाले मेडिकल कलेज स्थापनाका लागि  ईआईए गुरुयोजना निर्माण, जग्गा प्राप्तिलगायतका कामहरु गर्नेछ । दुई सय बिघा जमीनमा कलेज निर्माणमा करीव १० अर्ब रुपैयाँ खर्च लाग्ने पूर्वानुमान गरिएको छ । कम्तीमा ३०० शय्या रहने यस अस्पताललाई तीन वर्षसम्म सञ्चालन ल्याएपछि मात्रै एमबिबिएस तहका विद्यार्थीको भर्ना लिइने छ ।