म्याग्दीका एकै वडामा पाँच सिँचाइ आयोजना

म्याग्दी । बेनी नगरपालिकाका–४ सिंगामा चार वटा लिफ्ट प्रविधिसहित पाँच सिँचाइ आयोजना सुरु भएको छ । खाद्यबाली, तरकारी र फलफूल उत्पादनका लागि म्याग्दी नदीको पानी तानेर सिँचाइ गर्न लिफ्ट प्रविधि सुरु गरिएको वडा कार्यालयले जनाएको छ ।

खेतीयोग्य जमीन बाँझो हुन नदिन र रोजगारी तथा आयआर्जनको अवसर सिर्जना गर्न सिँचाइ पूर्वाधार तयार पार्न लागिएको वडाध्यक्ष गोविन्द पौडेलले बताए ।

सो कार्यका लागि सुर्केमेलामा १० लाख, सिंगाको कुना तालका लागि नौ लाख, ठूलोखोलाका लागि तीन लाख र तातोपानीका लागि पाँच लाख रूपैयाँ विनियोजन गरिएको छ । सुर्केमेलास्थित म्याग्दी नदी किनारमा पानी सङ्कलनका लागि इनार खन्ने र विद्युतीय उपकरण राख्ने घर पनि निर्माण गरिएको छ ।

कुनातालमा केही दिनमै इनार खन्न सुरु गरिने उपभोक्ता समितिले जनाएको छ । विद्युतीय उपकरणबाट उक्त नदीको पानीलाई तानेर खेतमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराइने कुनाताल लिफ्ट सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष डिल्लीराज पौडेलले बताए ।

बास्कुनामा पाँच वर्षदेखि अधुरो बनेको तीन हजार लिटर क्षमताको पोखरी निर्माणलाई पनि पूर्णता दिन लागिएको छ । सुन्तलाको पकेट क्षेत्र बास्कुनामा सिँचाइ सुविधाका लागि २०७१ मा पोखरी निर्माण सुरु भएको थियो ।

नगरपालिकाबाट पाँच लाख र सङ्घीय सांसद भूपेन्द्र थापाको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट पाँच लाख रूपैयाँ विनियोजन भएपछि ती योजनालाई पूर्णता दिन लागिएको उपभोक्ता समितिका अध्यक्ष भीम थापाले बताए ।

पोखरी निर्माणमा स्थानीयवासी लालबहादुर केसीले पाँच लाख सहयोग गरेका छन् । पाँच वर्षअघि बेनी नगरपालिकाको पाँच लाख, वन कार्यालयको ४५ हजार, भू–संरक्षण कार्यालयको ५० हजार र थामडाँडा सामुदायिक वन उपभोक्ता समूहको ५० हजार रूपैयाँसहित अन्य निकायको १२ लाख रूपैयाँकाे सहयोगमा पोखरी खनिएको थियो ।

सत्र मिटर लम्बाइ, आठ मिटर चौडाइ र दुई मिटर गहिराइ भएको सो पोखरी निर्माणको अन्तिम चरणमा पुगेको छ । अबको एक महीनाभित्र प्रयोगमा ल्याउने तयारी गरिएको यो पोखरीबाट बास्कुनाका ४१ घरधुरी लाभान्वित हुने स्थानीयवासी शेरबहादुर केसीले बताए ।

“पाँच सय रोपनीभन्दा बढी सुन्तला बगैँचामा सिँचाइ सुविधा पुग्छ”, केसीले भने, “छहरेखोलाको पानी पोखरीमा सङ्कलन गरेर बगैंचामा सिँचाइ गर्न लागिएको हो ।” रासस