५ करोडको लागतमा पार्क बन्दै, प्रदेश ५ का वतावरणमन्त्रीले गरे शिलान्याश

बुटवल उपमहानगरपालिकाको सहयोगमा पाणिनि पार्क उपभोक्ता समितिले करीब पाँच करोडको लागतमा पार्क निर्माण हुन लागको हो ।

रुपन्देही । बुुटवलको जितगढीमा पाणिनि पार्क निर्माण गरिने भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोगमा पाणिनि पार्क उपभोक्ता समितिले करीब पाँच करोडको लागतमा पार्क निर्माण हुन लागको हो । पार्कको शुक्रबार शिलान्याश गर्दै उद्योग, पर्यटन, वन तथा वतावरणमन्त्री लीला गिरीले प्रदेश नम्बर ५ लाई सुन्दरीकरण गरिने बताए ।

उनले प्रदेशका सबै जिल्लामा व्यवस्थित हरियालीपार्क निर्माण गरी सुन्दर शहरको रुपमा विकास गर्ने बताए । उनले भने, ‘विकास निर्माण र सुन्दरीकरणका हिसाबले प्रदेशलाई नमूना बनाउँछौ ।’

कार्यक्रममा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले पार्कका संरचना निर्माण गर्दा वातावरण मैत्री बनाउन सुझाव दिए । बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले नगरलाई हरियाली शहर बनाउन विभिन्न अवधारणा अगाडि सारेको बताए । पाणिनि पार्क उपभोक्ता समितिका अध्यक्ष ऋषि आचार्यले ब्याकरणका प्रणेता पाणिनि ऋषिको नाममा स्थानीयवासीको सक्रियतामा पार्क निर्माण गर्न थालिएको जानकारी दिए । रासस