पुल निर्माण अलपत्र

पुल निर्माणमा ५५ प्रतिशत भौतिक प्रगति भएको छ । डिभिजन सडक कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीदत्त भट्टले भने, “महाकालीतर्फ(पश्चिम) का पुल निर्माणको काम चार पाँच महिना मुस्किलले हुन्छ ।” उनले वर्षात्का कारण महाकालीमा आउने बाढीका कारण पश्चिम क्षेत्रमा आठ नौ वटा पुल निर्माणमा समस्या आइरहेको बताए ।

भीमदत्तनगर । निर्माण कम्पनीको ढिलासुस्ती र डिजाइनमा देखिएको समस्यालगायतका कारणले कञ्चनपुर–कैलालीमा करिब १४ पुलकाे निर्माण अलपत्र परेकाे छ ।

साना र ठूला गरी कञ्चनपुरमा ४० र कैलालीमा १५ वटा पुल चालू आर्थिक वर्षमा निर्माणाधीन अवस्थामा छन् । जसमध्ये १४ वटा पुल विविध कारणले निर्माणमा ढिलाइ भएको डिभिजन सडक कार्यालय भीमदत्तनगरले जनाएको छ ।

पुल निर्माणमा ५५ प्रतिशत भौतिक प्रगति भएको छ । डिभिजन सडक कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीदत्त भट्टले भने, “महाकालीतर्फ(पश्चिम) का पुल निर्माणको काम चार पाँच महिना मुस्किलले हुन्छ ।” उनले वर्षात्का कारण महाकालीमा आउने बाढीका कारण पश्चिम क्षेत्रमा आठ नौ वटा पुल निर्माणमा समस्या आइरहेको बताए ।

“केही पुलमा देखिएको डिजाइन सच्याउन हामीले माथिल्लो निकायमा पत्राचार गरिसकेका छौं,” प्रमुख भट्टले भने, “केही पुल निर्माण कम्पनीको लापरवाहीले निर्माणमा ढिलाइ भएको छ ।” कतिपय ठाउँमा तीन वर्षको अवधिमा पुलको पिल्लर मात्रै बनेको स्थिति छ ।

निर्माणाधीन पुलमध्ये कञ्चनपुरको देखतभूली–पर्सिया जोड्ने दोदा नदी पुलको समयावधि सकिए पनि निर्माण हुनसकेको छैन । त्यस्तै कृष्णपुर नगरपालिकामा पर्ने ओदाल खोला र खार खोलामा म्याद सकिएको एकवर्ष बितिसक्दासमेत निर्माणकार्य अलपत्र छ ।

त्यस्तै दोधारा–चाँदनी मलेरिया नाला पुल पनि सम्झौता सकिएको तीन महिना बितिसक्दासमेत निर्माणकार्य अलपत्र छ । भीमदत्त नगरपालिका–११ भुजेला खोला, कामीकाटे खोला पुल, मलेरिया नाला, पथरिया नाला पक्की पुल, जोगबुढा नदीको पुल र झिलमिला जोड्ने गन्दानालामा पुल निर्माणकार्य अलपत्र छ ।

यहाँको दोदा नदीमा बनाइएको काठे पुल तर्न स्थानीयवासीले शुल्क बुझाउनुपर्ने बाध्यता छ । पुल तर्न साइकलको पाँच र मोटरसाइकलले २० रूपैयाँ तिर्नुपर्ने बाध्यता छ । स्थानीय इटाहा बाबा मन्दिर सहयोग समिति दोदामा काठे पुल बनेको छ ।

स्थानीय शहादेव रानाले पुल नहुँदा वर्षौंदेखि समस्या भोग्दै आएको दुखोसो सुनाए । ‘पुल नहुँदा खेतीपातीका लागि नदी तर्न पनि समस्या छ,’ रानाले भने, “नदी तर्ने क्रममा ज्यान समेत गएको अवस्था छ ।” रासस