पाँचतारे होटलमा विदेशी लगानी आवश्यक छैन

विदेशी लगानीकर्ताको उत्साहलाई कार्यान्वयनमा ल्याउन आवश्यक सबै तयारी पूरा गर्नुपर्छ । उनीहरुले गर्न लागेको लगानीका क्षेत्रहरुलाई बलियो बनाउने आधार बनाउन सक्नुपर्छ । विदेशीले गरेको लगानी डुब्यो भने नेपाल सरकारको समेत बेइज्जत हुन्छ । त्यसकारण उनीहरुको लगानीको ग्यारेन्टी दिन आवश्यक छ ।

अहिले हुन लागेको लगानी सम्मेलन सफल बनाउन आवश्यक छ । लगानी सम्मेलन सफल भएमा यो नेपालका लागि कोशेढुङ्गा हुने छ । लगानी सम्मेलन नेपालमा नियमित रुपमा भइरहेको छ । यसका उपलब्धिहरु संस्थागत गर्न गहन गृहकार्य हुनुपर्छ र हामी त्यसतर्फ लाग्नु पर्छ ।

अहिले लगानी सम्मेलनका लागि जुन उत्साह देखिएको छ, यो उत्साह विगतमा भएका सम्मेलनमा पनि थियो । यसभन्दा अगाडि करिब १४ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो । तर, त्यसको कति प्रतिशत लगानी नेपालमा आयो ? कति आउन बाँकी छ ? प्रतिबद्धताअनुसार किन आएन ? भन्ने विषयमा समीक्षा हुन आवश्यक छ । जुन समीक्षा अहिलेसम्म हुन सकेको छैन ।

अहिले पनि विभिन्न देशका छ सयभन्दा बढी विदेशी लगानीकर्ता नेपालमा आउन लागेका छन् । उनीहरु जुन उत्साहका साथ आएका छन्, त्यसलाई मर्न दिनु हुँदैन । विदेशी लगानीकर्ताको उत्साहलाई कार्यान्वयनमा ल्याउन आवश्यक सबै तयारी पूरा गर्नुपर्छ । उनीहरुले गर्न लागेको लगानीका क्षेत्रहरुलाई बलियो बनाउने आधार बनाउन सक्नुपर्छ । विदेशीले गरेको लगानी डुब्यो भने नेपाल सरकारको समेत बेइज्जत हुन्छ । त्यसकारण उनीहरुको लगानीको ग्यारेन्टी दिन आवश्यक छ ।

निजी क्षेत्रको लगानी सुरक्षित महसुस गर्ने वातावरण सरकारले निर्माण गरिदिनुपर्छ । छ सयभन्दा बढी लगानीकर्तामध्ये ५ देखि १० प्रतिशत लगानीकर्ताहरु साँच्चै लगानी गरौं भन्ने हेतुले आएका हुन्छन् । ती लगानीकर्ताहरुलाई माथिल्लो तहबाट मन्त्री, प्रधानमन्त्री तहबाटै एक्ला एक्लै वार्ता र संवाद गर्न आवश्यक देखिन्छ ।

पर्यटन क्षेत्रको ७० वर्षको इतिहास भएकाले यसमा लगानीको लागि खासै आवश्यक देखिँदैन । पर्यटन क्षेत्रमा लगानी धेरैले गरेका छन् । सरकारले पर्यटन क्षेत्रभन्दा पूर्वाधार निर्माणमै बढी जोड दिनु आवश्यक देखिन्छ । फिल्मसिटीदेखि एडभेन्चरलगायतमा लगानीसँगै प्रविधि भित्र्याउन विशेष जोड दिन आवश्यक देखिन्छ ।

अहिलेको लगानी सम्मेलनले भ्रमण वर्ष २०२० लाईसमेत राम्रो सन्देश जाने गरी तयारी थाल्नु आवश्यक छ । भारत र चीनका बीच रहेर हामी अगाडि बढिरहेका बेला पर्यटन क्षेत्रको सम्भावना व्यापक छ । पूर्वाधार बनाउन सक्यौं भने पर्यटन क्षेत्रको विकास र विस्तार गर्न कुनै समस्या देखिँदैन ।

दोलखामा निर्माण हुन लागेको फिल्मसिटीका लागि लगानी जुटाएर निर्माण सम्पन्न गर्न सके धेरै पर्यटक नेपाल भित्र्याउन सकिन्छ । अहिले सार्कको हबका रुपमा नेपाल विस्तार र विकास भइरहेको छ । हाम्रा सरकारी संयन्त्र र राजदूतावासहरुको भूमिका धेरै छ । नेपालमा आउनेहरु कतिले दुई पक्षीय सम्झौता गरेर गएका हुन्छन् । सम्झौतापछि नेपाल आउनका लागि उनीहरुले के चाहिरहेका छन्, कस्ता सुविधा माग गरिरहेका छन्, त्यो बुझ्न जरुरी छ । त्यसका लागि गैरआवासीय नेपाली (एनआरएन) विश्वभरि छन् । उनीहरुलाई प्रयोग गरेर पनि लगानीकर्ता भित्र्याउन सकिन्छ ।

अहिले सरकारले गरेको सुरुआत निकै राम्रो छ । यसलाई सबैले सहयोग गर्नुपर्छ । अहिलेको सरकार दुई तिहाइको भएकाले चाहेको काम गर्न सक्छ । हामीले पनि त्यही आशा गरेका छौं । अहिलेको अवस्थामा काम गर्न सकिएन भने कहिले गर्ने त ? यो सरकारका लागि र हामी नेपालीहरुका लागि ठूलो अवसर हो । यसलाई प्रयोग गर्न सक्नुपर्छ ।

पाँचतारे होटल खोल्नका लागि विदेशी लगानीको आवश्यकता छैन । यसका लागि नेपाली लगानीकर्ता नै काफी छन् । स्थानीयको सहभागितामा होटल निर्माण गर्ने हो भने धेरैले लगानी गर्न सक्छन् । त्यसका लागि सरकारले उचित वातावरण बनाइदिनु पर्छ ।

विदेशी लगानीमा अत्याधुनिक प्रविधि भित्र्याउन आवश्यक छ । जस्तो फिल्मसिटी, अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्रलगायत निर्माण गर्न विदेशी लगानी भित्र्याउन आवश्यक छ । तर, होटल र रिसोर्ट बनाउन विदेशी गुहार्नु उचित देखिँदैन । यस्ता काम गर्न त नेपाली लगानीकर्ता नै अग्रसर हुनुपर्छ । नेपालमा भएका हिमतालहरु जाडो सिजनमा पूर्णरुपमा जमेका हुन्छन् । ती तालहरुमा विश्वस्तरीय स्की प्रतियोगिता गराउन सक्छौं । जहाँ प्रविधि आवश्यक पर्छ । यस्ता ठाउँमा विदेशी लगानीकर्तालाई प्रयोग गर्न सकिन्छ । नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको दोलखाको च्छोरोल्पा हिमतालमा विश्वका ठूला ठूला कार्यक्रम गर्न सक्छौं । यस्ता काम नेपालीले मात्र आँटेर तत्कालै गर्न सकिँदैन । विदेशी लगानी ल्याउन सके १÷२ वर्षमै गर्न सकिन्छ ।

सरकारले पर्यटन क्षेत्रमा विदेशी लगानी भित्र्याउने तयारी गरेको छ । तर पर्यटन क्षेत्रका सम्बन्धित व्यक्तिसँग पर्याप्त मात्रामा छलफल गरिएको छैन । पर्यटन क्षेत्रमा क्रियाशील विभिन्न देशका प्रतिनिधिहरुले हामीलाई सोध्ने गरेका छन्,– लाओस, कम्बोडिया र म्यानमारभन्दा बढी नेपालले के दिन सक्छ ? उनीहरु हाम्रो देशका समकक्षी हुन्, तर हामीभन्दा धेरै अगाडि बढिसकेका छन् । ती देशभन्दा नेपालले नीतिगत रुपमा के के सुविधा दिन सक्छ भनेर हामीलाई सोध्ने गरेका छन् ।

तर, हामीले स्पष्ट जवाफ दिने कुनै आधार छैन । अब सरकारले ती आधार निर्माण गर्नुपर्छ । त्यसैले लगानी सम्मेलनले लगानी भित्र्याउने मात्र नभई लगानीका आधार पनि तयार पार्न आवश्यक छ ।