रिसोर्टसहित ३ ओटा केवलकार सञ्चालनमा ल्याउने तयारी, ७ अर्ब लगानी खोज्दै निजी क्षेत्र

कैलालीको टीकापुरमा जलपादेवी केवलकार, प्युठानको स्वर्गद्धारीमा स्वर्गद्धारी केवलकार र कास्कीको सिकलेसमा सिकलेस अन्नपुर्ण केवलकार सञ्चालन आउने भएको हो ।

काठमाडौं । निजी लगानीमा रिसोर्टसहित ३ ओटा केवलकार सञ्चालनमा आउने भएका छन् । कैलालीको टीकापुरमा जलपादेवी केवलकार, प्युठानको स्वर्गद्धारीमा स्वर्गद्धारी केवलकार र कास्कीको सिकलेसमा सिकलेस अन्नपुर्ण केवलकार सञ्चालन आउने भएको हो ।

३ ओटा केवलकारमा विदेशी लगानी जुटाउन शुक्रबारदेखि सुरु हुने लगानी सम्मेलनमा प्रस्ताव गरिने भएको छ । यी केवलकार बनाउन झण्डै ७ अर्ब रुपैयाँ अर्थात ६ करोड ३० लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।

जलपादेखि केवलकार बनाउन १ अर्ब ६० करोड रुपैयाँ अर्थात १ करोड ६० लाख डलर लाग्ने देखिएको छ । स्वर्गद्धारी केवलकार बनाउन पनि १ करोड ६० लाख डलर र सिकलेस अन्नपुर्ण केवलकारलाई ३ करोड १० लाख डलर अर्थात साढे ३ अर्ब रुपैयाँ लाग्ने संभाव्यता अध्ययनले देखाएको छ ।

३ वटौ केवलकार आयोजनाको ब्याजदर हेजिङ फण्डसहित १२ प्रतिशत राखिएको छ । केवलकार बनाउन १ वर्ष निर्माणपुर्वको काम सक्न, १ वर्ष लगानी जुटाउन र डेढ वर्षमा सम्पन्न गर्ने प्रस्ताव गरिएको छ ।

हाल मनकामना, चन्द्रागिरी र कालिञ्चोकमा केवलकार सञ्चालन भइरहेको छ । निजी लगानीमा थप डेढदर्जन केवलकार सञ्चालनको तयारीमा छन् ।