मानवीय चाप, अव्यवस्थित सवारी पार्किङका कारण बढेको दुर्घटनाको सम्भावनाजस्ता कारणले स्थायी बसपार्कको कार्यान्वयन अनिवार्य रहेको फिदिम नगरपालिकाले जनाएको छ ।
फिदिम । हालै सञ्चालनमा ल्याइएको पाँचथरको फिदिम–२, पल्लोटारस्थित स्थायी बसपार्कको कार्यान्वयनमा समस्या देखिएको छ । शहर विस्तार हुने अनुमानका आधारमा फिदिम बजारबाट झण्डै डेढ किलोमिटर दूरीमा रहेको पल्लोटारमा निर्माण गरिएको बसपार्क कार्यान्वयनमा समस्या भएको हो । दुई दशकअघि निर्माण थालेर गत मङ्सिरबाट सञ्चालनमा ल्याइएको बसपार्कमा यात्रु पुग्न कठिनाइ परेको छ । मानवीय चाप नहुँदा सवारी साधन समेत पार्किङ हुन सकेका छैनन् । यात्रु सबै बजारमा रहने हुँदा बसपार्क प्रयोग गर्नुपर्ने आवश्यकता नै नरहेको यातायात व्यवसायीको भनाइ छ ।
फिदिम, पाँचथरसहित ताप्लेजुङ र पूर्वी तेह्रथुमको आठराइका स्थानीयको दैनिक चाप हुने बजार हो । स्थायी बसपार्कको अभावमा यहाँका यातायात व्यवसायीले फिदिम माध्यमिक विद्यालयको जग्गा भाडामा लिएर अस्थायी बसपार्क सञ्चालन गरिरहेका थिए । बढ्दो मानवीय तथा सवारी साधनको चापलाई व्यवस्थित गर्न २०५१ सालबाट फिदिम नगरपालिका–२, पल्लोटारमा स्थायी बसपार्क निर्माण थालिएको थियो । १० जना स्थानीयले निःशुल्क प्रदान गरेको नौ रोपनी जमीनमा सुविधायुक्त बसपार्क निर्माण गरिएको हो ।
उक्त समयदेखि हालसम्म सरकारले करोडौँ रुपैयाँ लगानी गरेर स्थायी बसपार्क निर्माण गरेको हो । गत वर्ष मात्रै एक करोड ९० लाख बजेट बसपार्कको स्तरोन्नतिमा खर्च गरिएको नयाँ शहर आयोजना कार्यालय फिदिमले जनाएको छ । यात्रुको सम्पर्कभन्दा बाहिर रहेका कारण यो बसपार्क कार्यान्वयनमा कठिनाइ परेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख जनकराज तिम्सिनाका अनुसार बसपार्कमा मानवीय चाप शून्यप्राय हुने गर्दछ ।
बसपार्कमा उत्रने तथा सवारी साधन चढ्ने यात्रु नै नहुने हुँदा यहाँ सवारीका साधन पु¥याउनु पर्ने बाध्यता मात्रै रहेको यातायात व्यवसायी नीलम गिरीको भनाइ छ । बसपार्कमा पु¥याउनैपर्ने बाध्यताले यात्रु र सवारी चालकले अनावाश्यक दुःख पाएको गिरीको गुनासो छ । सञ्चालनमा आएको बसपार्कको अनिवार्य कार्यान्वयनका लागि फिदिम नगरपालिकाले कडाइ गरेको छ ।
फिदिम बजारका आहालगैरी, मेनगेट, शनिबारे चोक र बरडाँडा चोकमा मात्रै सवारी साधन रोक्न, यात्रु उतार्न तथा चढाउन नगरपालिकाले निर्देशन दिएको छ । साथै बसपार्क पुगेर ‘प्रवेश पास’ लिएर मात्रै अघि बढ्ने व्यवस्था मिलाइएको छ तर, यातायात व्यवसायी नगरपालिकाको व्यवस्थाका कारण समस्या परेको गुनासो गर्छन् । बजारमा रहेका यात्रु चढाउन बजारभित्रै निश्चित समय सवारी पार्किङ गर्नुपर्ने उनीहरूको बाध्यता छ । यस क्रममा यहाँ दैनिकजसो सवारी चालक, यात्रु, प्रहरी र नगर प्रहरीबीच विवाद हुने गरेको छ ।
हालैमात्र फिदिमबाट हिलिहाङ गाउँपालिका–४, पञ्चमीका लागि छुट्ने ट्याक्सी पार्किङका विषयमा नगर प्रहरी र सवारी चालकबीच झडप भयो । फिदिम बजारबाट स्थायी बसपार्क पुग्न पैदलयात्रा गर्दा करीब ३० मिनेट समय लाग्छ । अटोरिक्सालगायत साधनले ५० भाडा लिने गर्दछन् । यसकारण यात्रु सवारीलाई आफ्नो पायकमा बोलाइ चढ्ने गर्दछन् । यस क्रममा सवारी चालक, प्रहरी र नगर प्रहरीबीच तनावको स्थिति सिर्जना हुने गरेको छ ।
मानवीय चाप, अव्यवस्थित सवारी पार्किङका कारण बढेको दुर्घटनाको सम्भावनाजस्ता कारणले स्थायी बसपार्कको कार्यान्वयन अनिवार्य रहेको फिदिम नगरपालिकाले जनाएको छ । नगरपालिकाले सार्वजनिक सूचना नै प्रकाशन गरी बजारभित्र टिकट काउण्टर सञ्चालन नगर्न र लामो समय निर्धारित स्थानभन्दा अन्यत्र सवारीका साधन पार्किङ नगर्न आग्रह गरेको छ । ग्रामीण क्षेत्रसहित ताप्लेजुङ, इलाम, विर्तामोड, धरान, तेह्रथुमको आठराईका लागि धेरै सवारीका साधन छुट्ने फिदिममा यसअघि बजारभित्रै राखिएका टिकट काउण्टर व्यवसायीले औपचारिक रुपमा मात्रै हटाएका छन् । काउण्टरको होर्डिङ बोर्ड नराखी टिकट काट्नुपर्ने बाध्यता यथावत रहेको उनीहरूको भनाइ छ । रासस