हुलाकी सडकमा १० किलोमिटर कालोपत्रे

सडक निर्माणको ठेकेदार कम्पनीविरुद्ध उच्च अदालत राजविराज इजलासमा फरकफरक व्यक्तिद्वारा तीनवटा मुद्दा दायर गरिएको छ । दायर गरिएका तीन वटै मुद्दामा अदालतबाट अन्तिम फैसला नआएपछि विवादित स्थानलाई छोडेर अन्य भागमा कालोपत्रेको काम शुरु गरिएको छ ।

लहान । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बिसनपुर–बर्साइन–स्वर्णपट्टि सडकखण्डको १० किलोमिटर कालोपत्रे सकिएको छ । भारतीय सीमाक्षेत्रसँग जोडिएको सप्तरीको बोदे बर्साइन नरपालिकाको स्वर्णपट्टिदेखि भदैयासम्म करीब १० किलोमिटर सडकमा कालोपत्रे सकिएको उक्त सडकका कन्ट्र्याक्टर मेनेजर विनोद गौतमले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्गदेखि भारतीय सीमाक्षेत्र स्वर्णपट्टीसम्म करीब १७ दशमलव २८ किलोमिटरको सो सडकमा पर्ने बजार क्षेत्रमा ११ मिटर र बजार क्षेत्रबाहिर सात मिटर चौडाइ कालोपत्रे गर्ने योजना छ ।

ठेकेदार कम्पनी दिवा निर्माण प्रालि काठमाडौँले चैत मसान्तभित्र काम सकिने गरी सडक निर्माणको काम भइरहेको जनाएको छ । चैत महीनाभित्र सडकको सम्पूर्ण काम सकेर हस्तान्तरण गरिने गरी काम भइरहेको म्यानेजर गौतमले बताए ।

५८ करोड तीन लाख ९७ हजारको लागतमा निर्माणधीन सडकको काम २०७६ असार २० गतेसम्म सडक निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भए पनि २०७५ चैतभित्रै सकिने गरी तीव्र रुपमा सडक निर्माणको काम भइरहेको म्यानेजर गौतमको भनाइ छ ।

गत विसं ०७४ मङ्सिरदेखि निर्माण शुरु भएको सो सडकमा कालोपत्रे बाहेकको काम सकिएको छ, म्यानेजर गौतमले भने, “सडकमा निर्माण गर्नुपर्ने ३३ वटै कल्भर्ट निर्माण भइसक्यो, अहिले एक हजार ४०० मिटर दाँयाबाँया फुटपाथसँगै नाला निर्माणसमेत अन्तिम चरणमा पुगेको छ ।”

ती कामहरु सकेर माघ १५ गतेदेखि सडकको कालोपत्रेको काम शुरु गर्ने लक्ष्य रहेपनि अदालतमा परेको मुद्दाका कारण कालोपत्रे गर्ने कार्य केहीपछि धकेलिएको म्यानेजर गौतमले बताए । उक्त सडक निर्माणको ठेकेदार कम्पनीविरुद्ध उच्च अदालत राजविराज इजलासमा फरकफरक व्यक्तिद्वारा तीनवटा मुद्दा दायर गरिएको छ । दायर गरिएका तीन वटै मुद्दामा अदालतबाट अन्तिम फैसला नआएपछि विवादित स्थानलाई छोडेर अन्य भागमा कालोपत्रेको काम शुरु गरिएको छ । रासस