कोहलपुर–सुख्खड खण्डमा विद्युतीय रेलमार्गको काम अघि बढ्यो, लम्बाइ ११२ किलोमिटर

वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) अध्ययनसम्बन्धी क्षेत्र तोक्ने क्रममा बाँके, बर्दिया र कैलाली पर्ने भएकाले ती क्षेत्रको प्राकृतिक, सामाजिक, जैविक र आर्थिक प्रणालीहरुबीच केकस्तो प्रभाव पर्दछ भनी यकिन गर्न त्यस जिल्लाका गाउँ/नगरपालिकाबाट आवश्यक रायसुझाव मागिएको रेल विभागले जनाएको छ ।

काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत बाँकेको कोहलपुदेखि कैलालीको सुख्खड खण्ड निर्माणको काम अघि बढेको छ । उक्त खण्डको विस्तृत, सर्वेक्षण तथा डिजाइन अध्ययनसम्वन्धी प्रस्ताव कार्यान्वयन गर्न प्रभावित क्षेत्रका ३ जिल्लाका गाउँ/नगरपालिकाबाट आवश्यक राय सुझाव माग गरिएको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) अध्ययनसम्बन्धी क्षेत्र तोक्ने क्रममा बाँके, बर्दिया र कैलाली पर्ने भएकाले ती क्षेत्रको प्राकृतिक, सामाजिक, जैविक र आर्थिक प्रणालीहरुबीच केकस्तो प्रभाव पर्दछ भनी यकिन गर्न त्यस जिल्लाका गाउँ/नगरपालिकाबाट आवश्यक रायसुझाव मागिएको रेल विभागले जनाएको छ ।

रेलमार्गको अलाइन्मेन्टमा पर्ने गाउँपालिका तथा नगरपालिका क्षेत्रमा पर्ने विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति तथा निकायलाई १५ दिनभित्र लिखित रायसुझाव बुझाउन भनिएको विभागका प्रवक्ता अमन चित्रकारले बताए । विभागले १५ दिने समय तोकेर उक्त खण्डको विस्तृत सर्वेक्षण, डिजाइन तथा निर्माणका लागि एआए र अध्ययनको क्षेत्र निर्धारण तथा कार्यसूची (टीओर)सम्बन्धी सार्वजनिक सूचनासमेत प्रकाशित गरेर राय माग गरेको हो ।

विभागले बाँकेबाट, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, बर्दियाबाट बाँसगढी नगरपालिका, बबई नगरपालिका, मधुवन नगरपालिका, राजापुर नगरपालिका, बधैयाताल गाउँपालिका, बारबर्दिया नगरपालिका र कैलाकीबाट टीकापुर नगरपालिका, जानकी गाउँपालिका, लम्की चुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका र घोडाघोडी नगरपालिकालाई आवश्यक राय सुझाव लागि पत्राचार गर्न आग्रह गरेको हो ।

यो खण्डको लम्बाइ ११२ किलोमिटर छ । रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको जिम्मा चिनियाँ परामर्शदातालाई दिइएको विभागका प्रवक्ता चित्रकारले बताए । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको कुल ९४५ किलोमिटर पर्छ । यसअघि महोत्तरी बर्दिवासदेखि सर्लाहीको लालबन्दी खण्डमा ३० किमि रेलमार्ग ट्र्याक निर्माण भइसकेको छ । पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज जोडेर जानुपर्ने अलाइनमेन्ट परिवर्तन गरी निजगढ-हेटाैंडा-भरतपुर खण्डमा पनि पूर्वसम्भाव्यता अध्ययन, डिजाइन र टेन्डरका लागि आशयपत्र माग गरिएको विभागले जनाएको छ ।