अर्थमन्त्री भन्छन्— दुई वर्षअघिको लगानी सम्मेलनलाई अन्तिम रुप दिन यो सम्मेलन

कृषि, पर्यटन, पूर्वाधार, सूचना प्रविधिलगायत क्षेत्रलाई मुख्य आधार मानेर लगानी परियोजना तयार पारिएको छ । सरकारको मुख्य लक्ष्य भनेको समृद्ध नेपाल अभियान हो । यसलाई सबै मिलेर सहयोग गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले बताइन् ।

काठमाडौं । तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको संयोजकत्वमा भएको लगानी सम्मेलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न यस पटक सम्मेलन आयोजना गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

‘लगानी सम्मेलन भन्ने कुरा वर्षैपिच्छे हुँदैन । त्यो सम्भव पनि हुँदैन । तर अहिले हुन लागेको लगानी सम्मेलन भनेको गत वर्ष भएको सम्मेलनबाट प्राप्त उपलब्धिलाई अन्तिम रुप दिन आयोजना गर्न लागिएको हो,’ अर्थ मन्त्रालयमा आयोजित लगानी सम्मेलनसम्बन्धी पत्रकार सम्मेलनमा खतिवडाले भने, ‘२०७३ साल मार्चमा भएको लगानी सम्मेलनबाट जे÷जति उपलब्धि हासिल भएको छ, त्यसलाई यो पटकको लगानी सम्मेलनबाट अन्तिम रुप दिइन्छ ।’

यो सहित नेपालमा तीन पटक लगानी सम्मेलन भएको स्मरण गराउँदै भने, ‘२०४८, २०७३ र अहिले २०७५ सालमा लगानी सम्मेलन गर्न लागिएको हो ।’ पहिलो पटक लगानी सम्मेलन आयोजना गर्नुको उद्देश्य र अहिलेको उद्देश्यमा धेरै भिन्नता रहेको खतिवडाको भनाइ थियो । तर २०७३ सालमा गरिएको लगानी सम्मेलन र अहिले हुन लागेको सम्मेलनमा खासै फरक नभएको उनको भनाइ छ ।

स्वदेशी लगानीकर्ता र विदेशी लगानीकर्तालाई विश्वास दिलाउन तेस्रो लगानी सम्मेलनको आयोजना गर्न लागिएको उनको भनाइ छ । चैत १५ र १६ गते आयोजना हुन लागेको लगानी सम्मेलनमा ४० देशबाट ६ सयभन्दा बढी पाहुना आउने खतिवडाले जानकारी दिए । त्यसैगरी ७७ ओटा परियोजनाको सोकेस गरिएको छ ।

कृषि, पर्यटन, पूर्वाधार, सूचना प्रविधिलगायत क्षेत्रलाई मुख्य आधार मानेर लगानी परियोजना तयार पारिएको छ । सरकारको मुख्य लक्ष्य भनेको समृद्ध नेपाल अभियान हो । यसलाई सबै मिलेर सहयोग गर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले बताइन् । ‘सरकारले जसरी निजीक्षेत्रसँग मिलेर अघि बढेको छ, त्यो एकदमै सराहनीय छ,’ राणाले भनिन्, ‘सरकारले लिएको लक्ष्य र उद्देश्य पूरा गर्ने हाम्रो पनि दायित्व हो ।’

नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले सरकारले ल्याएका धेरैजसो नीतिनियम निजीक्षेत्रसँग सहकार्य गरेरै ल्याएको र केही कानुन हतार गरेर ल्याएको बताए । उनले अहिले नेपालमा लगानीको वातावरण सुध्रिएको बताए । ‘केही समय अघिसम्म नेपाल लगानीमैत्री वातावरण थिएन,’ उनले भने, ‘तर, अहिले धेरै सुधार भएको छ ।’

त्यति मात्रै होइन, नेपालमा लगानी गरेको बहुराष्ट्रिय कम्पनीले नसोचेको प्रतिफलसमेत लिएका छन् । त्यसले पनि नेपालमा लगानीको वातावरण बनेको प्रमाणित गर्ने उनको भनाइ छ । विदेशस्थित नेपाली दूतावास र नेपालस्थित विदेशी दूतावासले पनि लगानी सम्मेलनालाई सफल बनाउन लागिरहेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । ‘यसअघिको सम्मेलनमा दूतावसले यस्तो सक्रियाता देखाएका थिएनन्,’ उनले भने, ‘अहिले उनीहरुले नै नेपालको बारेमा आफ्ना लगानीकर्तालाई आश्वास्त पार्ने काम गरिरहेका छन् ।’