सहकारीमा आबद्ध जो कोही कृषक पैसाको अभावमा व्यावसायिक कृषि गर्नबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ ऋण प्रवाह गर्ने गरिएको जानकारी दिँदै उनले संस्थाबाट हाल चार करोड ४४ लाख रूपैयाँको कारोबार भइरहेको बताए ।
पोखरा । व्यावसायिक कृषिमा इच्छा भएर पनि पैसाको अभावमा समस्यामा पर्नेका लागि पोखरा महानगरपालिका–३३ मा क्रियाशील भरतपोखरी साना किसान कृषि सहकारी संस्था लिमिटेड बरदान सावित भएको छ ।
सहकारीमा गरिने सानो लगानीबाट अधिकतम फाइदा लिनसक्ने भएपछि यतिखेर यहाँका कृषक निकै लाभान्वित भएका छन् । विसं २०६९ मा दर्ता भई ३९ जना किसानबाट सञ्चालनमा आएको सहकारीमा अहिले ९०३ जना सदस्य छन् ।
सहकारीमा न्यूनतम पाँच जनाभन्दा माथिका सदस्यसहित समूहगत दर्ता गर्ने गरिएको र हालसम्म १५० वटा समूह दर्ता रहेको संस्थाका अध्यक्ष रामजीप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार सहकारीले संस्थाका सदस्यलाई पशुपालन, तरकारी, कुखुरापालन आदिका लागि ऋणप्रवाह गर्दै आएको छ ।
सहकारीमा आबद्ध जो कोही कृषक पैसाको अभावमा व्यावसायिक कृषि गर्नबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ ऋण प्रवाह गर्ने गरिएको जानकारी दिँदै उनले संस्थाबाट हाल चार करोड ४४ लाख रूपैयाँको कारोबार भइरहेको बताए ।
संस्थाले सामूहिक जमानीमा सदस्यलाई एक लाखसम्म बिना धितो ऋण दिने गरेको छ भने धितोसहित १० लाख रूपैयाँसम्म ऋण लगानी गर्दै आएको छ । “संस्थाले दूध र मासु प्रयोजनका लागि पशुपालन गर्ने सदस्यलाई ९ प्रतिशत ब्याजमा र कृषिजन्य उत्पादन, तरकारीखेती आदिका लागि १४ प्रतिशत ब्याजमा ऋण सहयोग दिँदै आएको छ,’ उनले भने ।
ऋण सहयोगसँगै भरतपोखरीको बाघमारासहित यहाँका विभिन्न स्थानमा कृषक व्यावसायिक कृषिमा आकर्षित हुँदै गएको उनको भनाइ छ । कृषकलाई सजिलोका लागि संस्थागत रुपमा रासायनिक मल खरीद गरी बिक्री वितरणसमेत गर्न थालिएको उनले जानकारी दिए ।
संस्थाबाट मल बिक्री वितरण गर्दा किसानलाई सहज त भएको छ नै उनीहरूले बजार मूल्य भन्दा सस्तो मूल्यमा समेत पाउने गरेका छन् । बजारमा ६० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको डीएपी मल संस्थामार्फत खरिद गर्दा ५१ रुपैयाँ पर्ने गरेको जानकारी दिँदै अध्यक्ष अधिकारीले अघिल्लो वर्ष डीएपी, पोटास र युरिया मल २५ हजार किलो (५०० बोरा) बिक्री भएको बताए ।
साना किसान सहकारीका कारण लगानीका लागि ऋण खोज्न भौतारिनुपर्ने अवस्थाबाट किसानमुक्त भएको ओरेन्ज कृषि तथा पशु फार्मका सञ्चालक गणेशकुमार श्रेष्ठले बताए ।
“अब व्यावसायिक कृषिका लागि ऋण लिन बैंक नै धाइरहनुपर्ने अवस्था छैन,” उनले भने, “सहकारीमा आबद्ध भई व्यावसायिक कृषि गर्नेका लागि साना किसान सहकारी बरदान नै सावित भएको छ ।”
रोजगारीको खोजीमा विदेश तर्फ भौतारिने व्यक्तिले यहीं बसेर व्यावसायिक कृषिबाट मनग्गे आम्दानी गर्नसक्ने बताउँदै उनले लगानीका लागि साना किसान सहकारी महत्त्वपूर्ण सहयोगी बन्ने विश्वास व्यक्त गरे ।
साना किसान सहकारीका माध्यमबाट समूहमा आबद्ध हुने किसानबीच सामूहिक भाइचारा अभिवृद्धि हुने गरेको अर्का कृषक एवं आचार्य गाई फार्मका सञ्चालक ठाकुरप्रसाद आचार्यले बताए ।
“एक लाख रूपैयाँसम्मको ऋण प्राप्त गर्न बिना धितो सामूहिक जमानीको व्यवस्था गरेका कारण कृषक समूहमा रहनेबीच एक आपसमा मित्रता एवं सहयोगी भावनामा वृद्धि भएको छ,” उनले भने, “इच्छाशक्ति हुनेका लागि लगानीमा हुने सहजताले व्यावसायिक कृषि आयआर्जनको गतिलो माध्यम बनेको छ ।”
कृषिको व्यावसायीकरण र विकासमा राज्यको महत्त्वपूर्ण भूमिका हुने बताउँदै आचार्यले राज्यबाट वितरण हुने अनुदान सही कृषकले पाउने गरी व्यवस्था गरिनुपर्ने धारणा राखे । –वासुदेव पौडेल/रासस