सम्मेलनमा भाग लिन आउने विदेशी पाहुनाहरु आउने क्रम सुरु भएको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।
काठमाडौं । भोलि शुक्रबारदेखि काठमाडौंमा हुन लागेको लगानी सम्मेलनमा भाग लिन विभिन्न देशका लगानीकर्ताहरु आउने क्रम सुरु भएको छ ।
सम्मेलनमा भाग लिन आउने पाहुनाहरु काठमाडौंका होटल हायात, सोल्टी, अन्नपूर्ण, याक एन्ड यती तथा साङ्ग्रिलामा बस्ने व्यवस्था गरिएको छ ।
सम्मेलनमा भाग लिन आउने विदेशी पाहुनाहरु आउने क्रम सुरु भएको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार सम्मेलनमा भाग विभिन्न देशका लगानीकर्ता काठमाडौं आउने क्रम जारी छ । ‘यति जना र यो देशका भन्ने छैन, छ सयभन्दा बढी पाहुना आउने कुरा छ,’ एसएसपी ज्ञवालीले भने, ‘भोलिको कार्यक्रम भएकाले आज र भोलिमा आउने कार्यक्रम छ ।’
लगानी सम्मेलनलाई लक्ष्य गर्दै प्रहरीले उपत्यकाको सुरक्षा सतर्कता बढाएको छ ।
सम्मेलनका पाहुना आउन थालेसँगै प्रहरीले पनि सुरक्षा व्यवस्था मजबुत बनाएको प्रवक्ता ज्ञवालीले बताए । उनका अनुसार सम्मेलन अवधिभर चार हजार दुई सयभन्दा बढी प्रहरी परिचालित हुनेछन् ।
त्यसैगरी सूचना सङ्कलनका लागि पर्याप्त मात्रामा सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको प्रवक्ता ज्ञवालीले बताए ।
‘सुरक्षा व्यवस्था मजबुत छ, हामी त्यसमा गम्भीर छौं । सुरक्षा व्यवस्था मजबुत पार्न अन्य सुरक्षा निकायसँग पनि सहकार्य जारी छ,’ प्रवक्ता ज्ञवालीले भने ।
सम्मेलनमा आएका पाहुना बस्ने बासस्थानदेखि कार्यक्रमस्थलको सुरक्षामा प्रहरीहरु फिल्डमै खटिएको पनि उनले बताए ।
सम्मेलनको सुरक्षाका लागि प्रहरीले तालिमप्राप्त कुकुर पनि परिचालन गर्ने प्रवक्ता ज्ञवालीले बताए ।