ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले जलविद्युत् र रिसोर्टमा ४० अर्ब वैदेशिक लगानी ल्याउँदै

दुवै परियोजनामा विदेशी लगानी ल्याउन चिनियाँ कम्पनीसँग समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भइसकेको छ । शुक्रबार र शनिबार दुई दिन राजधानीमा हुने लगानी सम्मेलनका अवसरमा सम्झौता हुने उद्यमी प्रधानले जानकारी दिए । सम्मेलनमा एमओयू हुने भनिएका एक दर्जनमध्ये प्रधानका २ परियोजना छन् ।

काठमाडौं । ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानले छिमेकी चीनबाट जलविद्युत् र बुटिक रिसोर्ट सञ्चालन गर्न ४० अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी ल्याउने भएका छन् । उनले १६४ मेगावाटको कालिगण्डकी गर्ज जलविद्युत् आयोजना बनाउन झन्डै ३५ अर्ब र रिसोर्सेस हिमालयन बुटिक रिसोर्ट सञ्चालन गर्न ६ अर्ब रुपैयाँ वैदेशिक लगानी ल्याउने भएका हुन् ।

दुवै परियोजनामा विदेशी लगानी ल्याउन चिनियाँ कम्पनीसँग समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भइसकेको छ । शुक्रबार र शनिबार दुई दिन राजधानीमा हुने लगानी सम्मेलनका अवसरमा सम्झौता हुने उद्यमी प्रधानले जानकारी दिए । सम्मेलनमा एमओयू हुने भनिएका एक दर्जनमध्ये प्रधानका २ परियोजना छन् ।

गालिगण्डकी गर्ज आयोजना चाइना न्युक्लियर पावर ग्रुपअन्तर्गतको युनाङ सिङ हवा वाटर कन्जर्भेसन एन्ड हाइड्रोपावरले नेपाली साझेदारसँग बनाउने प्रधानले जानकारी दिए । उनका अनुसार युनाङले कालिगण्डकी गर्जमा ८० प्रतिशतसम्म लगानी गर्ने छ ।

चिनियाँ कम्पनीसँग सम्झौतापछि आयोजनाको जडित क्षमता बढेर २५४ मेगावाटसम्म पुग्ने सम्भावना रहेको उनले बताए ।

नदीको बहावमा आधारित (रन अफ दि रिभर) आयोजनालाई अर्धजलाशययुक्त (पिकिङ) बनाउने तयारी भएको उनले सुनाए । चिनियाँ कम्पनीसँग हुने सम्झौतापछि आयोजनाको क्षमता र खाका निर्धारण हुने भएको छ ।

गत असारको पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला बेइजिङस्थित नेपाली दूतावासमा आयोजनाको प्रवद्र्धक र चिनियाँ कम्पनीबीच लगानी गर्ने एमओयूमा हस्ताक्षर भएको थियो । त्यसबेला एमओयूमा हस्ताक्षर भएकामा अब सम्मेलनमा आयोजनामा लगानी तथा विकास सम्झौता हुने उनले जानकारी दिए ।

लगानी सम्झौतापछि सन् २०१९ को अन्तिसम्म निर्माणपूर्वको काम सम्पन्न गरी पाँच वर्षमा सक्ने कम्पनीको योजना छ । म्याग्दी र मुस्ताङ भएर बग्ने कालीगण्डकी नदीको पानीबाट विद्युत् उत्पादन गर्न विसं २०६३ मा आयोजनाको सर्वेक्षण भएको थियो । लामो समयदेखि प्रतीक्षामा रहेको कालीगण्डकी गर्जमा चिनियाँ लगानी भित्रिन लागेको हो ।

मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा विद्युत् गृह प्रस्ताव गरिएको छ । पाँच किलोमिटर सुरुङ रहने छ । आयोजनाले नारच्याङमा ३ करोड रुपैयाँ मुआब्जा दिएर ३०० रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।

यसैगरी चिनियाँ, ताइवानी र नेपालीको संयुक्त लगानीमा काभ्रेको बनेपामा बुटिक रिसोर्ट सञ्चालनमा आउने भएको छ । करिब ६ अर्ब रुपैयाँ लगानी हुने सो रिसोर्टमा चीन र ताइवानको सिन्सियर होटल्स ग्रुप र नेपालका ज्ञानेन्द्रलाल प्रधानको संयुक्त लगानी हुने छ ।

लगानी सम्मेलनमा संयुक्त लगानीको सम्झौता हुने लगानीकर्ता प्रधानले जानकारी दिए । उनले रिसोर्टका लागि आवश्यक जग्गा लिइसकेको तथा सम्झौतापछि रिसोर्ट निर्माणको काम अघि बढ्ने बताए ।

सुरुमा १ अर्ब रुपैयाँ लगानी हुने सो रिसोर्ट विस्तार गरी ६ अर्ब रुपैयाँसम्म खर्च गरिने उनले जानकारी दिए । उनले हिमालयलाई इको टुरिज्म रिसोर्टका रुपमा विकास गर्न लागेको बताए । होटलमा गएर बास बस्ने मात्र नभई ट्रेकिङ, जङ्गल सफारीलगायत कल्चर स्पोटसम्म हुने छ । यस्तै इकोलोजिक पार्क र भिल्लासमेत हुने छ ।