गरिबी हटाउन कति खर्च लाग्छ ?

सन् २०३० सम्ममा विश्वभरमा ४ सय मिलियन गरिब हुने अनुमान छ । र, आयमा हुने वृद्धिले सन् २०६० सम्ममा गरिबीलाई पूर्ण रूपमा निर्मूल पार्ने अनुमान पनि छ । यो तथ्याङ्कलाई आधार मानेर सदाका लागि गरिबी अन्त्य गर्न भविष्यको समग्र लागत १ दशमलव ५ ट्रिलियन डलर हुने अनुमान गर्न सक्छौँ ।

गरिबी मानव जातिमाथिको सबैभन्दा क्रूर पीडा हो । तपाईं यदि अत्यन्त गरिब हुनुहुन्छ भने सामान्य रोगको सहज उपचार गर्ने सामथ्र्य पनि राख्नुहुन्न, जसका कारण ६ जनामा एकको मृत्यु हुन्छ । तपाईंको फोक्सो वायु प्रदूषणका कारण भरिएको हुन्छ, जसरी २ दशमलव ७ बिलियन मानिसको भरिएको छ । किनकि, तपाईं गुइँठा र दाउराले खाना पकाउनुहुन्छ, तताउनुहुन्छ जसको असर दैनिक दुई बट्टा चुरोट सेवनबराबर हुन्छ । र, पौष्टिक आहारको कमीले तपाईंका बच्चामा शारीरिक विकास हुँदैन, जसका कारण उनीहरुको आईक्यू ४–८ मा सीमित हुन्छ । यस्तो हानिले चरम तनाव र दुःखको अवस्थामा पु¥याउँछ । यसले जीवनलाई सुन्दर बनाउने तरिकाको अन्त्य गराइदिन्छ ।

हो, विश्वले गरिबीविरुद्धको लडाइँमा ठूलो उपलब्धि हासिल गरिसकेको छ । सन् १८२० मा १० मध्ये नौजना चरम गरिबीमा थिए । विश्व बैङ्कको अनुमानअनुसार सन् २०१५ मा मानव इतिहासमा पहिलोपटक गरिबीको दर ‘सिङ्गल डिजिट’मा झरेको छ । अहिले विश्वको जनसङ्ख्याको ९ दशमलव १ प्रतिशत मानिस दैनिक १ दशमलव ९ डलरमा बाँच्न विवश छन् ।

चरम गरिबीका लागि १ दशमलव ९ डलरको यो थ्रेसहोल्ड वास्तवमा अत्यन्त ठूलो समस्या हो । किनकि, यसको अर्थ विकासोन्मुख देशमा एउटा धनी पर्यटकले कति सस्तोमा सामान किन्न पाउँछ भन्ने होइन, यो त एउटा अमेरिकीले अमेरिकामा नै के किन्न पाउँछ भन्ने हो । यसको स्तर स्थानीय मुद्राको क्रयशक्तिसँग तुलना गर्नुपर्ने हुन्छ ।

अर्थविद् एन्थोनी क्लुनिज रोसले सधैँका लागि गरिबी अन्त्य गर्न कति पैसा विश्वका प्रत्येक मानिसलाई ट्रान्सफर गर्नुपर्छ भन्ने विषयमा प्रारम्भिक प्रयास गरेका थिए । उनको पहुँचलाई अब अद्यावधिक गरौँ (केही अघि बु्रकिङ्स इन्स्टिच्युसनले पनि प्रयास गरेको थियो) ।

यसको समाधानका लागि हामी उदाहरणको सहयोग लिन सक्छौँ । उदाहरणका लागि, इन्डोनेसियालाई लिऊँ । त्यहाँ अहिले २ सय ५७ मिलियन मानिस छन्, यो विश्वमा जनसङ्ख्या धेरै भएको चौथो मुलुक हो । २० वर्षअघि इन्डोनेसियामा आधाभन्दा धेरै गरिब थिए । तर, सन् २०१४ मा आउँदा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या ८ दशमलव ५ प्रतिशतमा झ¥यो, जो १ दशमलव ९ डलरभन्दा कममा दैनिक गुजारा गरिरहेका छन् । औसतमा यी इन्डोनेसियालीलाई १ दशमलव ९ डलरका लागि २९ सेन्ट आवश्यक छ । सबैलाई गरिबीको रेखाभन्दा माथि ल्याउन कुल ६ मिलियन डलर रकम आवश्यक पर्छ । एक वर्षका लागि भनेको त्यो २ दशमलव २ बिलियन डलर हो ।

तर, यो अमेरिकीले २ दशमलव २ बिलियन डलरमा अमेरिकामै के किन्न सक्छन् भन्नेमा आधारित भएकाले इन्डोनेसियाली पैसामा यो अत्यन्त कम हुनेछ । विनिमय दरका आधारमा यो खासमा ७ सय मिलियन डलर हुन्छ ।

२ सय ६८ मिलियन मानिस चरम गरिबीमा रहेको सन् २०११ को सर्वेक्षणअनुसार भारत अहिले सबैभन्दा धेरै गरिबीको रेखामुनिका मानिसको घर भएको छ । त्यहाँ मानिसहरु गरिबीको रेखाभन्दा ३८ सेन्ट्स कममा दैनिकी चलाइरहेका छन् । भारतमा गरिबी अन्त्यका लागि विनिमय दरअनुसार ११ बिलियन डलर आवश्यक पर्न आउँछ ।

गरिबी अन्त्यका लागि सबैभन्दा महँगोचाहिँ कङ्गो र नाइजेरियामा हुनेछ । कङ्गोमा ७७ प्रतिशत मानिस चरम गरिबीमा छन् र उनीहरुले दैनिक ९० सेन्ट्सभन्दा कममा गुजारा गरिरहेका छन् । अत्यन्त कमजोर विनिमय दर भएकाले कङ्गोमा गरिबी अन्त्य गर्न १२ बिलियन डलरभन्दा बढी आवश्यक पर्न आउँछ ।

उत्तर कोरिया, यमन र जिम्बावेजस्ता देशको तथ्याङ्क यकिन नभएकाले त्यसलाई पनि समन्वय गर्दा पछिल्लो समय प्राप्त तथ्याङ्कअनुसार विश्वबाट गरिबी घटाउन १ सय बिलियन डलर आवश्यक पर्छ । बुक्रिङ्सले वर्षौंअघिको ट्रेन्ड र डाटालाई लिएर गरेको अध्ययनअनुसार सन् २०१५ मा विश्वबाट गरिबी अन्त्य गर्न ७५ बिलियन डलर बर्सेनि लाग्छ । यो सन्दर्भमा के बिर्सनुहुँदैन भने विश्वले बर्सेनि विकास सहायतामा १ सय ४० बिलियन डलर खर्च गरिरहेको छ ।

निश्चय पनि, यो विचार अभ्यासमा उतार्दा केही सीमितता हुन्छन् । कार्यान्वयनमा जाँदा विश्वभरका वास्तविक गरिब पहिचान गर्न गाह्रो पर्नेछ र २९ अथवा ३८ सेन्ट्स वितरण गर्न पनि थप अरु खर्च गर्न लाग्छ । तर, यही प्रक्रियाले हामीलाई विश्वको सबैभन्दा ठूलो समस्याको पहिचान गर्न पनि त सहयोग गर्छ ।

सन् २०३० सम्ममा विश्वभरमा ४ सय मिलियन गरिब हुने अनुमान छ । र, आयमा हुने वृद्धिले सन् २०६० सम्ममा गरिबीलाई पूर्ण रूपमा निर्मूल पार्ने अनुमान पनि छ । यो तथ्याङ्कलाई आधार मानेर सदाका लागि गरिबी अन्त्य गर्न भविष्यको समग्र लागत १ दशमलव ५ ट्रिलियन डलर हुने अनुमान गर्न सक्छौँ । अहिले नै कोषमा पैसा जम्मा गर्ने हो र आगामी ४५ वर्षसम्म त्यसले ब्याज दिने हो भने एक ट्रिलियन डलरभन्दा कम पैसाले सधैँका लागि गरिबी अन्त्य गर्न सकिन्छ ।

सुन्दा एक ट्रिलियन डलर अत्यन्त ठूलो पैसाजस्तो लाग्छ । तर, वास्तवमा यो विश्वको जीडीपीको एक प्रतिशत, अमेरिकी सेनामा हुने १८ महिनाको खर्च अथवा अमेरिकाको राष्ट्रिय ऋणमध्ये २० भागको एक भाग हो । यो पेरिस क्लाइमेट एग्रिमेन्टमा भएको सम्झौताअनुसार एक वर्षको मात्र लगानी हो, जसले बर्सेनि एक ट्रिलियन खर्च गर्ने हो भने सन् २१०० मा विश्वको तापक्रम शून्य दशमलव १७ डिग्री सेल्सियसले बढ्ने अनुमान गरेको छ ।
खास विडम्बना के हो भने गरिबीका लागि चाहिँ केही पनि लागत लाग्नेछैन । व्यापकता केन्द्रित आर्थिक वृद्धि सबैभन्दा प्रभावकारी उपाय भएको छ, गरिबी घटाउन । यसको उदाहरणका रुपमा चीनलाई लिन सकिन्छ । ३० वर्षमा चीनको आर्थिक विकासले ६ सय ८० मिलियन मानिसलाई गरिबीको रेखाबाट माथि ल्याएको छ । विश्व खुला व्यापार सम्झौता, दोहा विकास राउन्डजस्तै हुने हो भने १ सय ६० मिलियन मानिसलाई गरिबीबाट बाहिर निकाल्न सकिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्यका खुला व्यापारमाथि विश्वभर भएका आशङ्काको अर्थ हो, हामीले एउटा महत्त्वपूर्ण अवसर गुमाइरहेका छौँ । यही समयमा हामीले विकासमा भएका शक्तिशाली लगानीलाई थप प्रोत्साहन गर्नुपर्छ– बालबालिका पोषण, खोप, बालबालिका शिक्षा तथा बालिकाका लागि छात्रवृत्तिजस्ता कार्यक्रमले स्वास्थ्य, जीवनशैली तथा आयस्रोतमा दीर्घकालीन र अर्थपूर्ण प्रभाव पार्न सक्छन् ।

तर, हामीले के पनि महसुस गर्नुपर्छ भने गरिबीको अन्त्य अहिले हाम्रो आर्थिक पहुँचमा छ । र, हामीले हाम्रा राजनीतिक नेताहरुलाई खासै उपलब्धि नदिने महँगा नीतिबारे सोध्नुपर्छ । त्यस्ता नीति बनाउने विषयलाई चुनौती दिन सक्नुपर्छ ।

(कोपेनहेगन कन्सेन्सस सेन्टरका निर्देशक ब्योर्न लम्बर्ग कोपेनहेगन बिजनेस स्कुलका अतिथि प्राध्यापक हुन् । यो लेख हामीले उनको ब्लगबाट अनौपचारिक अनुवाद गरेका हौँ ।)