प्रधानमन्त्रीले लगानी सम्मेलनमा भने: ‘वी वेलकम फरेन इन्भेष्टमेन्ट’

नेपालको जलविद्युतमा ठूलो लगानीको सम्भावना भएको बताउँदै यसमा लगानी बढाउन आग्रह गरे । नेपालले ३ वर्षमा ३ हजार, ५ वर्षमा ५ हजार र १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन लक्ष्य लिएको बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले विदेशी लगानीलाई स्वागत गर्ने बताएका छन् । आज शुक्रबारदेखि राजधानीमा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई तिहाइ बहुमत प्राप्त सरकार स्पष्ट योजना र दिशानिर्देशका साथ आएकाले मुलुक विकासको बाटोमा अघि बढेको बताए ।

नेपालले पूर्वाधार, पर्यटन, कृषिलगायत क्षेत्रमा विदेशी लगानी खुला गरेको बताउँदै उनले भने, ‘वी वेलकम फरेन इन्भेष्टमेन्ट’ । उनले नेपालको जलविद्युतमा ठूलो लगानीको सम्भावना भएको बताउँदै यसमा लगानी बढाउन आग्रह गरे । नेपालले ३ वर्षमा ३ हजार, ५ वर्षमा ५ हजार र १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन लक्ष्य लिएको बताए ।

नेपालबाट उत्पादन हुने बिजुलीको अन्तरदेशीय बजार खुलेको र बङ्गलादेशसँग विद्युत् खरिदबिक्री सम्झौता भएको प्रधानमन्त्रीले सुनाए । पर्यटनको विकासका लागि सरकारले आगामी वर्ष नेपाल भ्रमण वर्ष मनाउन लागेको उनले जानकारी दिए ।