घुन्सा र सिम्बुवाखोला आयोजनाको जडित क्षमता १५३ मेगावाट छ । दुवै आयोजना एकसाथ निर्माण गर्ने रेमिटको योजना छ । रेमिट एचआईडीसीएलको सहायक कम्पनी हो ।
काठमाडौं । सार्वजनिक–निजी साझेदारीमा स्थापना भएको रेमिट हाइड्रो लिमिटेडले ७५ मेगावाट क्षमताको सिम्बुवा खोला जलविद्युत आयोजनाको काम अघि बढाएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको समेत लगानीमा निर्माण हुन लागेको सो आयोजनाको काम अघि बढाउन रेमिटले परामर्शदाता नियुक्तिको काम थालेको हो ।
रेमिटले ७८ मेगावाट क्षमताको घुन्साखोला आयोजनाको विस्तृत इन्जिनियरिङको काम गरिरहेको छ । सिम्बुवामा परामर्शदाता नियुक्तिका लागि रेमिटले ग्लोबल टेन्डरको आह्वान गरेको छ । यसअघि आशयपत्र (ईओआई) माग गर्दा विभिन्न ८ अन्तर्राष्ट्रिय कम्पनीले नेपालीसँगको संयुक्त उपक्रममा काम गर्नका लागि प्रस्ताव गरेका छन् । ईओआईबाट छानिएका आठ कम्पनीले मात्र परामर्शदाताको बोलपत्रमा भाग लिन पाउनेछन् ।
एएफ कन्सल्ट स्विट्जरल्यान्डसँग नेपालको इटको प्राइभेट लिमिटेड, डोलसार इन्जिनियरिङ कम्पनी टर्कीसँग नेपालको जीईओसी कन्सल्ट्स, इन्डो क्यानेडिन कन्सल्सटेन्सी सर्भिस भारतसँग नेपालको साह कन्सल्ट इन्टरनेसनल, मल्टिकन्सल्ट नोर नर्वेसँग नेपालको हाइड्रो कन्सल्ट इन्जिनियरिङ छन् ।
एनईडब्ल्यूजेएस इङ्क जापानसँग डीईभीटीईसी नेपाल, स्मेक इन्टरनेसनल अस्ट्रेलियासँग नेपालको जेड कन्सल्ट, ट्र्याकटवेल इन्जिनियरिङ भारत, ल्याहमेयर इन्टरनेसनल जर्मनी र टोटल म्यानेजमेन्ट सर्भिस नेपाल र वापकोर्स इन्डियासँग प्रिसायर नेपाल संयुक्त उपक्रम छ । मे १३ तारिखसम्म परामर्शदाताका लागि बोलपत्र पेस गर्न रेमिटले भनेको छ ।
यस्तै रेमिटले बनाउन लागेको ७८ मेगावाटको घुन्साखोला आयोजनाको विस्तृत इन्जिनियरिङको काम भइरहेको हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)का उपमहाप्रबन्धक अरुण राजौरियाले बताए । इन्डो क्यानेडिन कन्सल्सटेन्सी सर्भिस भारतसँग नेपालको साह कन्सल्ट इन्टरनेसनलले संयुक्त रुपमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)को काम गरिरहेका छन् ।
घुन्सा र सिम्बुवाखोला आयोजनाको जडित क्षमता १५३ मेगावाट छ । दुवै आयोजना एकसाथ निर्माण गर्ने रेमिटको योजना छ । रेमिट एचआईडीसीएलको सहायक कम्पनी हो ।
सिम्बुवा खोला आयोजना ताप्लेजुङको तापेथोक गाउँमा पर्छ । आयोजनाबाट वार्षिक ४२ करोड १३ लाख ९० हजार युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ । आयोजनाबाट उत्पादन हुने प्रस्तावित कोसी करिडोर ४०० केभी प्रसारणलाइनमा जोडिनेछ ।
घुन्साखोला पनि सोही जिल्लाको लेलेप गाउँमा पर्छ । नदीको बहावमा आधारित आयोजनाबाट वार्षिक ४१ करोड ४८ लाख ५३ हजार युनिट बिजुली उत्पादन हुनेछ । सिम्बुवा र घुन्सा दुवै अरुण नदीको सहायक खोला हुन् । ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । ४९ प्रतिशतमध्ये वैदेशिक रोजगारीमा जाने नेपालीको २९, सर्वसाधारण १० र आयोजना प्रभावित स्थानीय बासिन्दाको १० प्रतिशत सेयर स्वामित्व हुने रेमिटले जनाएको छ ।