बहुराष्ट्रिय कम्पनीका प्रमुखले एक स्वरमा भने : नेपालमा धेरै नाफा कमाएर लाभांश लैजान सकिन्छ

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा रहेका विदेशी कम्पनीहरुले राम्रो नाफा गरेर लाभांश विदेशमा गइरहेकाले नेपाल विदेशीका लागि उत्कृष्ठ गन्तव्य भएको बताइन । उनले नेपालमा लगानीका लागि ठुलो अवसर भएको जानकारी गराइन ।

काठमाडौं । स्वदेशी व्यवसायी तथा बहुराष्ट्रिय कम्पनी प्रमुखहरुले नेपाल विश्वमै सबैभन्दा बढी नाफा गर्ने मुलुक भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् ।

लगानी सम्मेलनको दोस्रो दिनको शत्रलाई सम्बोधन गर्दैै नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालमा रहेका विदेशी कम्पनीहरुले राम्रो नाफा गरेर लाभांश विदेशमा गइरहेकाले नेपाल विदेशीका लागि उत्कृष्ठ गन्तव्य भएको बताइन । उनले नेपालमा लगानीका लागि ठुलो अवसर भएको जानकारी गराइन । भारत र चीनले कतिपय वस्तुमा शुन्य भन्सारदर कायम गरेको भन्दै दुबै मुलुकमा वस्तु निकासी गरेर नाफा कमाउन अवसर भएको उनको भनाई छ ।

स्ट्याण्र्ड चाटर्ड बैंक निरुप सप्रुतले विगत ३३ वर्षदेखि नेपालमा राम्रो नाफा गरेको र लाभांश लैजान कुनै समस्या नभएको बताए । उनले नेपालमा लगानी गर्ने विदेशीलाई समस्या नभएकाले राम्रो नाफा कमाइ हुने र प्रतिफल पनि लैजान सहज भएको जानकारी गराए ।

गैर आवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाल लगानीका लागि राम्रो वातावरण भएकाले सञ्चालनको ३ देखि ४ वर्षमा राम्रो नाफा कमाएर लाभांश लैजान सकिने जानकारी दिए । उनले नेपालका राजनीतिज्ञ, मन्त्री र कर्मचारीलाई सहज भेट्न सकिने र भुत्तानी ग्यारेन्टी भएकाले लगानी गर्न आग्रह गरे ।

युनिलिभर नेपाल लिमिटेडका प्रवन्ध निर्देशक आशिष राईले २७ सञ्चालनको अवधिमा कुनै समस्या नभएको जानकारी दिए । उनले नेपामा युनिलिभरले राम्रो नाफा गरेको र लाभांश फिर्ता लैजान सहज भएको बताए । युनिलिभरले थप लगानीको तयारी गरिरहेको राइले सुनाए ।

नेपालमा ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवद्र्धक एसजेविएन अरुण ३ हाइड्रो डेभलपमेन्ट कम्पनीका प्रवन्ध निर्देशक नन्दलाल शर्माले नेपालमा नाफा राम्रो रहेको बताए । उनले १० देखि १५ वर्षमा नेपालले जलविद्यूत विकास गरे मात्रै प्रतिव्यक्ति आय ४ गुणा बढेर वार्षिक ४ लाख रुपैयाँ पुग्ने जानकारी दिए । उनले हालसम्म ८ अर्ब रुपैयाँ लगानी गरिसकेको बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा धेरै राम्रो प्रतिफल भएको बताए । नेपालीसंगको साझेदारीमा गरेको विदेशी लगानी सफल भएको र नाफा कमाएको बताए । सेयर बजारमा सुचिकृत नभएका कम्पनीले राम्रो नाफा कमाएको उनले सुनाए । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत लगानीको सुरक्षाको ग्यारेन्टको प्रतिवद्धता गरेकाले अब लगानी गर्न ढिलाइ गर्न नहुने बताए ।