४५ मेगावाटको कसुवाखोला आयोजना बनाउँदै सीईडीबी हाइड्रो फन्ड

आयोजना निर्माण सुरु गर्न कम्पनीले बैङ्कबाट कर्जा लिने प्रक्रिया अघि बढाएको छ । ऋण लिनका लागि कम्पनीले आउँदो वैशाख २ गते विशेष साधारणसभा बोलाएको छ । साधारणसभाबाट पारित भएपछि कसुवाले बैङ्कबाट कर्जा लिनेछ ।

काठमाडौं । सीईडीबी हाइड्रो फन्ड लिमिटेडले सहायक कम्पनीमार्फत ४५ मेगावाटको कसुवाखोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । फन्डले कसुवाखोला हाइड्रोपावर लिमिटेडमार्फत आयोजना निर्माण गर्न लागेको हो ।

आयोजना निर्माण सुरु गर्न कम्पनीले बैङ्कबाट कर्जा लिने प्रक्रिया अघि बढाएको छ । ऋण लिनका लागि कम्पनीले आउँदो वैशाख २ गते विशेष साधारणसभा बोलाएको छ । साधारणसभाबाट पारित भएपछि कसुवाले बैङ्कबाट कर्जा लिनेछ ।

सभाले ऋण लिने प्रस्तावका अतिरिक्त प्रबन्धपत्र नियमावली संशोधन र सञ्चालकको नियुक्तिको प्रस्ताव पारित गर्नेछ । साढे ८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनालाई कम्पनीले बैङ्कबाट ६ अर्ब ५० करोड रुपैयाँसम्म कर्जा लिने तयारी कम्पनीले गरेको हो । बाँकी आयोजनाले स्वपुँजी (इक्विटी) जुटाउनेछ ।

कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग आयोजनाबाट उत्पादन हुने बिजुली खरिदबिक्री सम्झौता (पीपीए) गरेको छ । आयोजनाले बर्खाको ६ महिनामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र सुक्खायाममा ८ रुपैयाँ ४० पैसामा पीपीए गरेको छ । आयोजना निर्माणका लागि लगानी जुटाउन नबिल बैङ्कसँग छलफल भइरहेको छ । सङ्खुवासभामा पर्ने आयोजनाको उचाइ पाँच सय मिटर रहेको छ । आयोजना पिकिङ रन अफ दी रिभर प्रकृतिको छ ।

सीईडीबीको अगुवाइमा ४ मेगावाटको राधीखोला सञ्चालन भइरहेको छ । सीईडीबीले दोलखामा ११ मेगावाटको खारेखोला र लमजुङमा १२ मेगावाटको दोर्दीखोला आयोजना निर्माण गरिरहेको छ । यस्तै ५ मेगावाटको रुकुमगाड आयोजना पनि निर्माणको तयारी थालेको छ । कम्पनीले निर्माण गर्न लागेको कसुवा हालसम्मको ठूलो आयोजना हो ।

सीईडीबीले २२ करोड ८९ लाख ३० हजार रुपैयाँबराबरको २२ लाख ८९ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ । सो रकम जलविद्युत आयोजनामा लगानी गर्ने कम्पनीको तयारी छ ।