केन्द्रीय बैङ्कले आफ्नो निक्षेप राख्न केही सर्तहरु अघि सारेको छ । केन्द्रीय बैङ्कका अनुसार बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको र केन्द्रीय बैङ्कले तोकेको न्यूनतम पूँजीकोष भएका वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीले बोलकबोलमार्फत निक्षेप स्वीकार गर्न सक्छन् ।
नेपाल राष्ट्र बैङ्कले करिब ४ अर्ब रुपैयाँ निक्षेप राख्न बैङ्क तथा वित्तीय संस्थाको खोजी गरेको छ । केन्द्रीय बैङ्कले एक वर्षे मुद्दती निक्षेपमा सो रकम राख्न उपयुक्त बैङ्क तथा वित्तीय संस्थाको खोजी गरेको हो ।
केन्द्रीय बैङ्कले आफ्नो निक्षेप राख्न केही सर्तहरु अघि सारेको छ । केन्द्रीय बैङ्कका अनुसार बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको र केन्द्रीय बैङ्कले तोकेको न्यूनतम पूँजीकोष भएका वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीले बोलकबोलमार्फत निक्षेप स्वीकार गर्न सक्छन् ।
त्यसैगरी निष्क्रिय कर्जा (एनपीए) कुल कर्जाको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशतभन्दा बढी रहेको, कर्जा÷स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात केन्द्रीय बैङ्कले तोकेको सीमाभित्र रहेको हुनुपर्ने सर्त राष्ट्र बैङ्कले राखेको छ ।
त्यस्तै अघिल्लो आर्थिक वर्षसम्म सञ्चालन नाफामा भएको, रियल इस्टेट कर्जा तोकिएको सीमामा रहेको, निक्षेप स्वीकार गर्ने बैङ्क तथा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत कारबाहीमा नपरेको र शीघ्र सुधारात्मक कारबाही (पीसीए)मा परेको संस्था भए फुकुवा भएको कम्तीमा छ महिना पुगेको र सर्वसाधारणलाई सेयर जारी गरेको संस्थाले मात्र निक्षेपका लागि आवेदन गर्न सक्ने व्यवस्था केन्द्रीय बैङ्कले गरेको छ ।
राष्ट्र बैङ्कको वित्त व्यवस्थापन विभागले २०७६ वैशाख २ गतेदेखि २०७७ वैशाख १ गतेसम्मका लागि निक्षेप राखिने जनाएको छ । यस्तो निक्षेपमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नुपर्ने पनि केन्द्रीय बैङ्कले उल्लेख गरेको छ ।
राष्ट्र बैङ्कले राख्न लागेको ३ अर्ब ८९ करोड ७१ लाख रुपैयाँमध्ये वाणिज्य बैङ्कहरुले ३ अर्ब १६ करोड ७५ लाख, विकास बैङ्कले ५३ करोड ४८ लाख र वित्त कम्पनीले १९ करोड ४८ लाख रुपैयाँका लागि शीलबन्दी बोलपत्र चैत २१ गते बिहीबारसम्म पेश गर्न सक्ने मङ्गलबार जानकारी दिएको छ ।
चैत २१ गते बिहीबार ३ बजे बोलपत्र प्रस्ताव खोलिने र तोकिएको सर्त पूरा गरेका बैङ्क तथा वित्तीय संस्थालाई जसले बढी ब्याज बोलकबोल गर्छ उसैलाई तोकिएको सीमासम्म निक्षेप दिइने केन्द्रीय बैङ्कले उल्लेख गरेको छ ।
हाल २८ वाणिज्य बैङ्क, ३३ विकास बैङ्क र २४ वित्त कम्पनी सञ्चालनमा छन् । तीमध्ये एक विकास बैङ्क र ५ वित्त कम्पनीले शीघ्र सुधारात्मक कारबाही भोगिरहेका छन् ।