फोर्ब्स २०१९ : ३० वर्षमुनिका ३० ‘स्टार’ उद्यमी र अन्वेषक

यस वर्षको अर्को रोचक कुरा के छ भने यी नव'स्टार'मध्येका अधिकांशले यस क्षेत्रमा परिवर्तन मात्र ल्याएका छैनन्, यसको सकारात्मक प्रभावलाई लामो सयमसम्मका लागि कायम राख्न काम पनि गरिरहेका छन् । विशेषगरी नयाँ बजारको सिर्जना र विकास कार्य गरिरहेका छन् ।

एजेन्सी । फोर्ब्स एसियाले एसिया प्रशान्त क्षेत्रमा तीन सय त्यस्ता व्यक्तिहरुको खोजी गरिरहेको छ जसलाई उसले वर्ष २०१९ का ३० वर्ष मुनिका ३० जना फोर्ब्सका प्रभावशाली एसियालीको सूचीमा राख्न सकोस् ।

दस उद्योगहरुबाट फोर्ब्सले करिब २३ देश र भूभागबाट यस वर्षको सूचीका लागि युवा उद्यमी तथा उदीयमान तारा चयन गर्दैछ । मङ्गोलिया, काजाकिस्तान, कार्जिकिस्तान र लाओसबाट पहिलो पटक फोर्ब्सको सूचीमा आउन सफल भएका छन् । यसले २०१९ को सूचीलाई थप समावेशी र विविधतापूर्ण बनाएको छ ।

यस वर्षको अर्को रोचक कुरा के छ भने यी नव’स्टार’मध्येका अधिकांशले यस क्षेत्रमा परिवर्तन मात्र ल्याएका छैनन्, यसको सकारात्मक प्रभावलाई लामो सयमसम्मका लागि कायम राख्न काम पनि गरिरहेका छन् । विशेषगरी नयाँ बजारको सिर्जना र विकास कार्य गरिरहेका छन् ।

आफ्नो क्षेत्रलाई राम्रो बनाउन प्रविधिको प्रयोगदेखि खाद्य तथा ऊर्जासम्बन्धी साना तथा मझ्यौला उद्योगलाई दिगो विकल्पको माध्यमबाट विकसित हुन सहयोग गर्ने काम गरिरहेका छन् । केहीले भने आफ्नो व्यापारमा सफल प्रदर्शन गर्दै समस्या समाधानका लागि नवीनतम साधनहरुमाथि काम गरिरहेका छन् ।

२५ वर्षकी मानुरी गुनावर्देना हेल्थ म्याचकी संस्थापक तथा सीईओ हुन् । उनी न्यु साउथ विश्वविद्यालयमा मेडिकलकी विद्यार्थी हुन् । उनलाई पहिलो पटक सम्भावित जीवनरक्षक उपचार विधिको ट्रायलमा सहभागी हुने बिरामी खोज्न अप्ठ्यारो परेको थियो । साथै उनले बिरामीहरुलाई उनीहरुको रोगको उपचार गराउन कुनै वैकल्पिक उपाय खोजीका लागि सजिलो बाटो नभएको पनि भेटिन् । यो २०१७ को सुरुको कुरा हो । त्यसपछि उनले म्याचमेकरको भूमिका खेल्ने निर्णय गरिन् र उनको स्टार्टअप हेल्थ म्याचको जन्म भयो ।

यस वर्षको सुरुमा अष्ट्रेलियामा लन्च भएको सिड्नी आधारित यो स्टार्टअपले अनुसन्धानकर्ता र फर्मास्यूटिकल कम्पनीहरुलाई उनीहरुको अध्ययनका लागि अनुकूल हुने बिरामी पत्ता लगाउन क्लिनिकल डेटामा मेसिन लर्निङ अप्लाई गर्छ । मानुरी गुनावर्देना भन्छिन्, ‘हामीले विश्वभरि नै क्लिनिकल ट्रायलमा बिरामीको पहुँचलाई अटोमेटिक बनाउँदै छौं र अनुसन्धान र विकासबीचको बाधालाई कम गरेर हेल्थकेयरलाई नाटकीय रुपमा सुधार गरिरहेका छौं ।’

फोर्ब्सको यो सूचीमा पर्ने अर्का व्यक्तित्व कम्बोडियाबाट डेमिनी रोबोटिक्सका सहसंस्थापक रिचार्ड यिम छन् । यिमले प्रविधिको प्रयोग गरेर समस्या समाधान गर्नुका साथै सम्भावित जीवन पनि बचाएका छन् । २५ वर्षे सामाजिक उद्यमी यिमले आफूले निर्माण गरेको विश्वकै पहिलो रिमोट कन्ट्रोल रोबोट जेभिटले विस्फोटन नगरी ल्यान्डमाइनलाई सुरक्षित निकाल्न सक्ने र अन्यलाई ल्यान्डमाइन विस्फोटनबाट हुने अकाल मृत्युबाट जोगाउने आशाले संस्थाको सुरुवात गरेका थिए ।

कम्बोडिया आफै पनि अन्डरग्राउन्ड बमको चुनौतीबाट गुज्रिरहेको छ । सन् १९७९ देखि अहिलेसम्म त्यहाँ ६४ हजारभन्दा धेरै मानिसहरु घाइते भएका छन् । यिमले सो रोबोट जेभिटलाई अफगानिस्तान, कोलम्बिया र इराकजस्ता द्वन्द्वरत क्षेत्रमा राखिने अपेक्षा गरेका छन् । उनले फोर्ब्स एसियासँग भने, ‘म विश्वलाई राम्रो परिवर्तन गराउनका लागि व्यवसाय स्थापना गर्ने कुरामा विश्वास गर्छु ।’

सूचीमा रहेका अन्य स्टार भने मौसम परिवर्तनको विषयसँग सम्बन्धित छन् र उनीहरु नयाँ वैकल्पिक आइडिया र समाधान ल्याएर यो समस्यासँग सक्रिय तरिकाले लड्दै पृथ्वीमाथि पर्ने नकारात्मक प्रभावलाई कम गर्दै छन् ।