१९ ओटा प्रसारण लाइनको निर्माण अनुमतिपत्र जारी, क्षमता ३३ देखि ४०० केभीसम्म

विद्युत् विकास विभागले ४००, २२०, १३२, ६६ र ३३ केभीए क्षमताका प्रसारण लाइनबाट ६०९ किलोमिटर लाइन निर्माणका लागि आयोजनालाई अनुमतिपत्र (लाइसेन्स) जारी गरेको हो ।

काठमाडौं । एक वर्षमा १९ ओटा प्रसारण लाइन निर्माणका लागि अनुमतिपत्र (लाइसेन्स) जारी भएको छ । विद्युत् विकास विभागले ४००, २२०, १३२, ६६ र ३३ केभीए क्षमताका प्रसारण लाइनबाट ६०९ किलोमिटर लाइन निर्माणका लागि आयोजनालाई अनुमतिपत्र जारी गरेको हो ।

सरकारले एसजेवीएन अरुण—३ हाइड्रोपावरलाई २१७ किलोमिटर लामो ४०० केभी प्रसारण लाइन निर्माण गर्न लाइसेन्स दिएको छ । यो प्रसारणलाइन संखुवासभाको दिर्दिङदेखि धनुषाको ढल्केवर हुँदै भारततर्फ जाने छ ।

त्यस्तै, २२० केभी क्षमताका दुई ओटा प्रसारण लाइन निर्माणका लागि अनुमतिपत्र यस अवधिमै जारी भएको छ । जसमा, तनहुँ हाइड्रोपावर २२० केभी प्रसारण लाइन र मर्स्याङ्दी करिडोर प्रसारण लाइनले निर्माण अनुमतिपत्र पाएका छन् । २२० केभी क्षमताको ती दुई आयोजनाको लम्बाइ ८२ किमी छ ।

१३२ केभीए क्षमताका सात ओटा प्रसारण लाइन यही अवधिमा निर्माण अनुमतिपत्र पाएका छन् । जसअनुसार, बर्दघाट—सार्दी १३२ केभी, बुर्तिबाङ—गोरुसिंगे १३२ केभी, कुसाहा कटैया १३२ केभी, रक्सौल परवानीपुर १३२ केभी, खानीखोला—१ १३२ केभी, सुनवल १३२ केभी र दोर्दी करिडोर १३२ केभी प्रसारण लाइनले यसै वर्ष निर्माण अनुमतिपत्र पाएका हुन् । १३२ केभी क्षमताका उक्त प्रसारण लाइन आयोजनाको लम्बाइ १७३ किमि छ ।

त्यस्तै, ६६ र ३३ केभी क्षमताका ९ ओटा प्रसारण लाइन निर्माणका लागि अनुमतिपत्र जारी भएको विभागले जनाएको छ । ती प्रसारण लाइनको लम्बाइ १३८ किमि छ । गत वर्ष विभागले साना ठूला क्षमताका विभिन्न १५ ओटा प्रसारण लाइन निर्माणका लागि अनुमति पत्र जारी गरेको थियो ।

चालू आव २०७५/०७६ मा ५ ओटा प्रसारण लाइन र सबस्टेसन निर्माण गर्ने नेपाल विद्युत् प्राधिकरणको लक्ष्य छ । १३२ केभी क्षमताका काबेली करिडोर, डुम्रे—दमौली—मर्स्याङ्दी, कोहलपुर—महेन्द्रनगर, कुश्मा—तल्लो मोदी, लमही—घोराही र रुपने सबस्टेसन यसै वर्ष निर्माण हुने अपेक्षा लिइएको प्राधिकरणका प्रसारण निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक ब्रजभूषण चौधरीले जानकारी दिए ।

केही दिनअघि डुम्रे—दमौली—मर्स्याङ्दी १३२ केभी प्रसारण लाइन सञ्चालनमा आएपनि अन्य प्रसारण लाइन तथा सबस्टेसन बन्न सकेका छैनन् ।

प्राधिकरणले अपेक्षा गरेअनुसार, सबै लाइन बन्न निकै चुनौतीपूर्ण छ । वन क्षेत्रमा पर्ने जग्गाको प्रयोग गर्न नपाउँदा काबेली करिडोरमा १२ ओटा टावर ठड्याउने र ४ किमी तार तान्ने विगतदेखि नै थलिँदै आएको छ ।

अहिले, जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगे पनि प्रसारण लाइनकै समस्या बल्झिने गरेको छ । निर्माण लागि अनुमतिपत्र जारी भएको लामो समय हुँदा पनि लाइन बन्ने छाँटकाट देखिदैन । जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर जाने सम्भावना उत्तिकै छ ।

दोर्दी करिडोर, काबेली करिडोर, खानीखोला करिडोर लगायत केही प्रसारण लाइन एक वर्षभित्र नबनेमा त्यसक्षेत्रमा निर्माणधीन केही जलविद्युत् आयोजनाको विद्युत् खेर जाने पक्का छ । प्रसारण लाइन निर्माण नहुँदा विगत ४ वर्षदेखि सिप्रिङखोला जलविद्युत् आयोजनाबाट पूर्णक्षमता सञ्चालन हुन सकेको छैन । १० मेगावाटको उक्त आयोजनाबाट २ मेगावाट विद्युत् खेर गइरहेको छ ।