असारदेखि आउँछ पाइपलाइनबाट डिजेल

नेपालको पूर्वी नाका काँकडभिट्टादेखि सिलगुडीसम्म पाइप बिछ्याएर पेट्रोलियम पदार्थ आपूर्ति गर्ने योजना छ । यसका लागि काम अघि बढिसकेको छ । पाइपलाइनबाट दैनिक २० घण्टासम्म डिजेल आयात हुनेछ । यस्तै प्रतिघण्टा २ लाख लिटर तेल अमलेखगन्जसम्म आपूर्ति हुनेछ । मध्य क्षेत्रलाई लक्षित गरी परियोजनाको काम अघि बढेको हो ।

अमलेखगन्ज । भारतको मोतिहारीबाट आगामी असारदेखि पाइपलाइनमा डिजेल आउने भएको छ । त्यसका लागि नेपाल आयल निगम लिमिटेड (एनओसी)को सहयोगमा इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसी)ले नेपालतर्फको ३६ किलोमिटर पाइपलाइनको काम तीव्र गतिमा अघि बढाएको छ । आईओसीको ऋण सहयोगमा पेट्रोलियम पाइपलाइनको काम सुरु भएको हो । आईओसीले नेपालतर्फको बाँकी काम गरिरहेको छ ।

हालसम्म नेपालतर्फको ८० प्रतिशत काम सकिएको र ढिलोमा असारसम्म मोतीहारी–अमलेखगन्ज पाइपलाइन सञ्चालनमा आउने आयोजना प्रमुख प्रदीकुमार यादवले बताए । हाल अमलेखगन्ज–पथलैयाअन्तर्गत रुख कटान गरी पाइप बिछ्याउने काम जारी छ । पर्सा राष्ट्रिय निकुञ्जको बफर जोन भएर पाइपलाइन जाने भएपछि रुख कटानमा वन मन्त्रालयले स्वीकृति दिन ढिलाइ गरेपछि काममा अवरोध आएको थियो ।

आयोजनाको अमलेखगन्जदेखि पथलैयासम्म ७.५ किलोमिटर पाइप बिछ्याउन बाँकी रहेको उनले जानकारी दिए । यस्तै अमलेखगन्जमा एउटा डिजेल ट्याङ्क मर्मत गर्न बाँकी छ । डिजेल भण्डारण गर्न चार ओटा ट्याङकीको मर्मत सकिएको छ ।

वनले स्वीकृति दिएपछि धमाधम रुख कटान गरेर पाइप बिछ्याउने काम भइरहेको छ । यसका लागि ६ हजार ५६२ ओटा रुख काटानी भएको छ । रुख कटानको क्षतिपूर्तिस्वरुप अर्को स्थानमा रुख रोप्न निगमले वनलाई १ करोड ९५ लाख रुपैयाँ भुक्तानी गर्ने भएको छ । यही महिनाभित्र पाइपलाइनमार्फत भारतबाट डिजेल आयातको लक्ष्य वनको अवरोधले ढिलाइ भएको आयोजना प्रमुख यादवको भनाइ छ । वनका कारण आयोजनाको काम ३ महिना पछि धकेलिएको छ । मन्त्रिपरिषद्ले निर्णय गर्दा पनि आयोजनालाई वनक्षेत्र उपलब्ध गराउन ६ महिनाभन्दा बढी समय लागेको थियो ।

भारतको मोतीहारीबाट रक्सौलसम्म पाइपलाइन बिछ्याउने काम सकिएको छ । नेपालतर्फ मात्र केही काम बाँकी रहेको यादवले बताए । रुख कटान र जरा निकाल्न समय लागेको उनले जानकारी दिए ।

डिजेल पटनाबाट आपूर्ति हुने भएपछि त्यहीबाट पम्पिङ गरिनेछ । ७५० केभीए सेरिजले ३०० किलोमिटर लामो पाइपमा डिजेल पम्प गरेर अमलेखगन्जसम्म पठाउनेछ । नेपाल–भारत सीमामा डिजेल नाप्ने मिटर राखिने तयारी छ । पाइपलाइनबाट डिजेल आपूर्ति गर्ने विषयमा एनओसी र आईओसीका उच्च अधिकारीबीच चैत २५ गते काठमाडौंमा हुने बैठक हुँदै छ । अमलेखगन्जबाट चितवनको लोथरसम्म पाइप बिछ्याएर डिजेल आपूर्ति गर्ने योजना रहेको यादवले सुनाए ।

नेपालको पूर्वी नाका काँकडभिट्टादेखि सिलगुडीसम्म पाइप बिछ्याएर पेट्रोलियम पदार्थ आपूर्ति गर्ने योजना छ । यसका लागि काम अघि बढिसकेको छ । पाइपलाइनबाट दैनिक २० घण्टासम्म डिजेल आयात हुनेछ । यस्तै प्रतिघण्टा २ लाख लिटर तेल अमलेखगन्जसम्म आपूर्ति हुनेछ । मध्य क्षेत्रलाई लक्षित गरी परियोजनाको काम अघि बढेको हो ।

लागत ७८ करोड ४० लाख बढ्यो

नेपालतर्फको ढिलाइ र केही स्थानमा लक्ष्यभन्दा बढी बोरिङको कामले लागत बढेर ५ अर्ब १८ करोड ४० लाख रुपैयाँ अर्थात् ३ अर्ब २४ करोड भारु पुगेको छ । यसअघि ४ अर्ब ४० करोड रुपैयाँ अर्थात् २ अर्ब ७५ करोड भारु लागत अनुमान गरिएको थियो । आयोजनाको लागत लक्ष्यभन्दा वीरगन्ज र परवानीपुरलगायत केही स्थानमा ५.९ किलोमिटर लामो थप बोरिङको काम गर्नुपर्दा लागत बढेको उनको भनाइ छ । त्यस बेला २ अर्ब भारु आईओसी र ७५ करोड भारु एनओसीले बेहोर्ने सहमति भएको थियो । लागत बढे पनि हालसम्म आईओसीले थप रकम एनओसीसँग नमागेको उनले जानकारी दिए । हालसम्म एनओसीले पाइपलाइनमा जग्गा उपलब्ध गराउनेबाहेक खर्च गरेको छैन ।

दुई अर्ब ढुवानी लागत बचत हुने

पटनादेखि पाइपबाट डिजेल आपूर्ति हुने भएपछि वार्षिक दुई अर्ब रुपैयाँ ट्याङ्क भाडा जोगिने भएको छ । हाल रक्सौलबाट ट्याङ्करबाट डिजेल आपूर्ति भइरहेकोमा चुहावट बन्द हुनुका साथै अर्बौं रुपैयाँ भाडा बचत हुने यादवले जानकारी दिए ।

बरौनीबाट अमलेखगन्जसम्म २० हजार लिटर डिजेल आपूर्ति गर्दा ट्याङ्करलाई ५० हजार र सीधै काठमाडौं लैजाँदा ८६ हजार रुपैयाँ पर्ने एनओसीको भनाइ छ । एक दिनमा ४ हजार केएल डिजेल आपूर्ति हुने गरेको छ । कुल मागको ६० प्रतिशत रक्सौल नाकाबाट डिजेल आपूर्ति हुने गरेको छ । पाइपलाइनबाट डिजेल आउने भएपछि चोरी बन्द हुनेछ । पाइपलाइनबाट डिजेल चुहावट शुन्य हुने दाबी निगमको छ । निगमले रक्सौल–अमलेखगन्जको अतिरिक्त सिलगुढी–काँकडभिट्टा, भैरहवा सुनौली, नेपालगन्ज–रुपेडिया र कैलालीनाकाबाट पेट्रोलियम पदार्थको आपूर्ति गरिरहेको छ ।

रक्साैलबाट फर्किएपछि