भारतबाट आयातितभन्दा नेपाली विष्फोटक पदार्थ महँगो, जलविद्युत् आयोजनाको लागत बढ्ने

‘भारतबाट आयातित २ किलो विष्फोटक पदार्थले १ घनमिटर पहरा फोड्छ तर, यति कामका लागि नेपाली सेनाको १२ किलो विष्फोटक पदार्थ चाहिने गरेको छ । जसले गर्दा भारतबाट आयात गरिएकोभन्दा नेपाली सेनाले उत्पादन गरेको ६ गुणा बढी महंगो हुन आउँछ ।’

काठमाडौं । भारतबाट आयतितभन्दा नेपाली सेनाले उत्पादन गरेको विष्फोटक पदार्थ महंगो भएको छ । जलविद्युत आयोजनाको सुरुङ खन्न आवश्यक पर्ने विष्फोटक पदार्थ महंगो भएपछि जलविद्युत आयोजनाको लागत पनि बढ्ने देखिएको छ ।

गत २ महिनादेखि नेपाली सेना आफैँले हेटौंडाको कारखानाबाट विष्फोटक पदार्थ उत्पादन गर्न थालेपछि आयात गर्न रोक लगाएको छ । उता आयातमा रोक लगाएसँगै यता नेपाली सेनाले उत्पाद गरेको विष्फोटक पदार्थ पनि महंगो भएपछि लागत झन बढ्ने देखिएको जलविद्युत व्यवसायीहरु बताउँछन् ।

भारतबाट आयातित विष्फोटक पदार्थको प्रतिकिलो १५० रुपैयाँ पर्ने गरेको तर, नेपालमै हेटौंडामा भएको सेनाको कारखानाबाट खरिद गर्दा प्रतिकिलो २०० रुपैयाँ पर्ने गरेको स्वतन्त्र ऊर्जा उत्पादक संस्था (इपान) का उपाध्यक्ष कुमार पाण्डेले बताए ।

उनले भारतीयभन्दा नेपाली सेनाको प्रतिकिलो ५० रुपैयाँ महंगो भएको जानकारी दिए । क्यापिटल नेपालसंग कुरा गर्दै उपाध्यक्ष पाण्डेले भने, ‘२ महिनादेखि सेनाले आफैँ दिने भनेर विदेशबाट विष्फोटक पदार्थ आयातमा रोक लगाएको छ । यता सेनाको महंगो भएपछि आयोजनाको लागत बढ्ने देखिएको छ ।’

नेपाली सेनाले उत्पादन गरेको विष्फोटक पदार्थ महंगो हुनुका साथै आयातित भन्दा कम गुणस्तरको भएको पाण्डेले बताए । ‘भारतबाट आयातित २ किलो विष्फोटक पदार्थले १ घनमिटर पहरा फोड्छ तर, यति कामका लागि नेपाली सेनाको १२ किलो विष्फोटक पदार्थ चाहिने गरेको छ । जसले गर्दा भारतबाट आयात गरिएकोभन्दा नेपाली सेनाले उत्पादन गरेको ६ गुणा बढी महंगो हुन आउँछ ।’ उनले भने । यसबाट आयोजनाको लागत बढ्ने देखिएको पाण्डेको निष्कर्ष रहेको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानराज पाण्डेले इमल्सन प्रतिकिलो १९८ र नेपोलाइट २०० रुपैयाँमा बिक्री भइरहेको बताए । उनले भारतबाट आयात गरिएको भन्दा नेपाली विष्फोटक पदार्थ मंहगो भएको जानकारी प्राप्त भएको बताउँदै उनले यस विषयमा बुझ्ने बताए ।

यो संवेदनशील भएकाले विष्फोटक पर्दाको भण्डारण र आपूर्तिको काम सेनाले गर्दै आएको छ । सेनाले मागेअनुसार विष्फोटक पदार्थ दिन नसकेको र भारतबाट ल्याउँदा ६ महिना बढी समय लाग्ने भएपछि आयोजनाको काम पनि ढिलाई हुने लगानीकर्ताको भनाई छ ।

सेनाले समयमा पदार्थ उपलब्ध नगराँउदा पराराष्ट्र मन्त्रालयबाट नेपालस्थित भारतीय दूताबासबाट नो अब्जेक्सन पत्र लिएपछि मात्र भारतबाट आयात गर्न सकिन्छ ।