एक दर्जन ऊर्जा उद्यमीको सक्रियतामा ‘नेपाल पावर एक्सचेन्ज लिमिटेड’ कम्पनी रजिष्टार कार्यलयमा दर्ता भइसकेको छ । २ महिनाअघि स्थापना भएको यस कम्पनीको पुँजी १० करोड रुपैयाँ रहेको छ ।
काठमाडौं । निजी क्षेत्रले पनि नेपालमा विद्युत व्यापारको काम सुरु गर्न लागेको छ । हाल नेपाल विद्युत प्राधिकरणबाट मात्र बिजुली खरिदबिक्री हुँदै आएकोमा अब कम्पनी नै स्थापना गरेर विद्युत व्यापार गर्नका लागि निजी क्षेत्र अगाडि बढेको हो ।
एक दर्जन ऊर्जा उद्यमीको सक्रियतामा ‘नेपाल पावर एक्सचेन्ज लिमिटेड’ कम्पनी रजिष्टार कार्यलयमा दर्ता भइसकेको छ । २ महिनाअघि स्थापना भएको यस कम्पनीको पुँजी १० करोड रुपैयाँ रहेको छ । आवश्यकताअनुसार पुँजी बढाउने तयारी कम्पनीको छ ।
सरकारबाट अनुमतिपत्र (लाइसेन्स) पाउने बित्तिकै पावर ट्रेडिङको काम सुरु गर्ने कम्पनीका एक सञ्चालकले बताए । निजी क्षेत्रले कम्पनी सञ्चालनमा ल्याएपछि विद्युत व्यापारमा प्रतिस्पर्धाका साथै नेपाल विद्युत प्राधिकरणको एकाधिकार पनि अन्त्य हुने छ ।
कम्पनी स्थापना गर्न ऊर्जा उद्यमीहरु ज्ञानेन्द्रलाल प्रधान, कुमार पाण्डे, शैलेन्द गुराँगाइ, आशिष गर्ग, कुशकुमार जोशी, नरेन्द्र पन्त, सुधीरप्रसाद तिमल्सिनालगायत एक दर्जन उर्जा उद्यमीको लगानी रहेको छ । उनीहरुले हाइड्रो सलुसन्स प्रालि, नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड, नाग्दी ग्रृुप लिमिटेड, लिवर्टी इनर्जी लिमिटेड, पिखुवाखोला हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडमार्फत लगानी गरेका छन् ।
पावर एक्सजेन्ज कम्पनीले नेपालका जलविद्युत आयोजनाका अतिरित्त भारतीय कम्पनीसंग विद्युतको आयात र निर्यात व्यापार गर्ने छ ।
जलविद्युत आयोजनाका प्रवद्र्धकलाई विद्युत प्राधिकरणसंग मात्र विद्युत खरिदबिक्री सम्झौता (पीपीए) गर्नुपर्ने वाध्यताको अन्त्य हुने भएको छ । पावर एक्सचेन्ज कम्पनीले पनि पीपीए गर्ने छ ।
भारतले विद्युत व्यापारमा खुला गरेपछि कम्पनीले भारतका एनभीएन विद्युत व्यापार कम्पनी, पावर ट्रेडिङ कर्पोरेशनलगायत संस्थासंग विद्युत व्यापार गर्ने भएको हो । विद्युत ऐनमा निजी क्षेत्रबाट व्यापारको व्यवस्था नभएकाले सरकारले यसलाई संशोधन गरेर खुला गर्न लागेपछि निजी क्षेत्रले कम्पनी स्थापना गरेको हो ।
।