विद्युत जडित क्षमता ५ हजार मेगावाट, ऊर्जा खपत ७०० युनिट पुग्ने

सरकारले तयार पारेको १५ औं योजनाको आधारपत्रमा जलविद्युतको तीव्र उत्पादन गरी ऊर्जा सुरक्षा सुनिश्चित गर्ने लक्ष्य पूरा गर्ने उल्लेख छ । हालसम्म जडित क्षमता १ हजार १०० मेगावाट रहेको छ । ५ वर्षमा प्रणालीमा ४ हजार मेगावाट बिजुली थप हुने छ ।

काठमाडौं । आउँदो ५ वर्षमा विद्युत उत्पादन जडित क्षमता ५ हजार मेगावाट पुग्ने भएको छ । सरकारले सार्वजनिक, निजी साझेदारीका अतिरित्त वैदेशिक लगानीबाट आर्थिक वर्ष ०८०/०८१ सम्म बिजुली उत्पादन बढाएर ५ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको हो ।

सरकारले तयार पारेको १५ औं योजनाको आधारपत्रमा जलविद्युतको तीव्र उत्पादन गरी ऊर्जा सुरक्षा सुनिश्चित गर्ने लक्ष्य पूरा गर्ने उल्लेख छ । हालसम्म जडित क्षमता १ हजार १०० मेगावाट रहेको छ । ५ वर्षमा प्रणालीमा ४ हजार मेगावाट बिजुली थप हुने छ । यस अवधिमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी, १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोशीलगायत साना ठूला ३ दर्जन आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । यो वर्ष १०० मेगावाटभन्दा बढी बिजुली थप हुने छ ।

निजी क्षेत्रबाट निर्माण भइरहेको ८६ मेगावाटको सोलु दुधकोशी, ८२ मेगावाटको तल्लो सोलुलगायत ९०० मेगावाटको अरुण तेस्रो आयोजना पनि सम्पन्न हुने छ । सरकारले स्वदेशी तथा विदेशी लगानीमा ऊर्जा उत्पादन बढाउने लक्ष्य लिएको छ ।

हालसम्म राष्ट्रिय ग्रिडबाट बिजुली सेवा पाउनेको संख्या ७० प्रतिशत पुगेको छ । ६२३ स्थानी तहमा विद्युत पुर्वाधार पुगेको छ । ५ वर्षमा ६६ केभी क्षमताको प्रसारण लाइन निर्माण, ८ हजार किलोमिटर विद्युत चुहावट २० प्रतिशतबाट घटाएर १४ प्रतिशतमा झार्ने लक्ष्य सरकारको छ । सबै स्थानीय तह र ५८ लाख ५० हजार घरधुरीमा बिजुली सेवा पुगेको हुने र प्रतिव्यक्ति बिजुली खपत ७०० युनिट पुग्ने आधारपत्रमा उल्लेख छ । हाल प्रतिव्यक्ति बिजुली खपत १९८ युनिट छ । निर्माणाधिन अवस्थामा रहेका विद्युत आयोजना, प्रसारण लाइनलाई तोकिएको समयमा सम्पन्न गरेर लक्ष्य प्राप्ति गर्ने योजना सरकारको छ ।

विद्युत उत्पादनमा निजी तथा विदेशी लगानी आर्कर्षित गर्न जोखिम आंकलन, निर्धारण र बाँडफाँड सम्बन्धि नीति र मोडेलको विकास गर्ने योजना सरकारको छ । विदेशी मुद्रा जोखिम वहन गर्नका लागि हेजिङ फन्ड कार्यन्वयनमा ल्याइने भएको छ । जलासययुक्त पम्प स्टोरेज, वैकल्पिक स्रोतको पनि विकास गरिने भएको छ । आगामी आर्थिक वर्ष ०७६/०७७ सम्म सार्वजनिक र निजी साझेदारमा गरी विभिन्न ५७ आयोजना सम्पन्न भई प्रणालीमा १ हजार ३८० मेगावाट बिजुली थप हुने छ । दुई वर्षमा उत्पादन जडित क्षमता २ हजार ५०० मेगावाट पुग्ने अनुमान गरिएको छ । हालसम्म १ हजार १०० मेगावाट बिजुली उत्पादन भइरहेको छ ।

आगामी आर्थिक वर्षमा ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजनासमेत गरी ३९ आयोजनाबाट १ हजार २३ मेगावाट बिजुली थप हुने देखिएको छ । यो वर्ष पनि लक्ष्यमा राखेका आयोजना सम्पन्न हुने प्रवद्र्धकहरुले जानकारी गराइरहेको उनले बताए ।

हालसम्म ७.८ मेगावाटको सुपरमाई र साना २ गरी प्रणालीमा १० मेगावाट बिजुली थप भएको छ । अझै ४ महिना समय बाँकी रहेकाले धेरै आयोजना आउने उनले बताए । असारसम्म १०० मेगावाट बिजुली थप हुने उनको अनुमान छ । यो वर्ष प्राधिकरण आफैँले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ‘ए’का अतिरिक्त निजी लगानीबाट ४० मेगावाटको खानीखोला, २२ मेगावाटको वागमति, २३.५ मेगावाटको माथिल्लो सोलु २७ मेगावाटको दोर्दीखोलगायतका आयोजना छन् ।

आगामी वर्ष माथिल्लो तमाकोसीका अतिरित्त १११ मेगावाटको रसुवाढी, ४२ मेगावाटको तल्लो सान्जेन, ३० मेगावाटको खानीखोला, ८२ मेगावाटको तल्लो सोलु, ४२ मेगावाटको मिस्त्रीखोला, ३६ मेगावाटको अपर बलेफी ‘ए’, २५ मेगावाटको दरवाङ म्याग्दी र २५ मेगावाटको सिंगटीखोला रहेका छन् । माथिल्लो तामाकोशीबाट आउँदो कात्तिकसम्म बिजुली उत्पादन हुने अनुमान गरिएको छ ।