सम्मेलनमा सम्झौता भएको कालिगण्डकी गर्ज जलविद्युत् आयोजनाको काम सुरु हुँदै, नेपालीको १५ चिनियाँको ८५ प्रतिशत लगानी हुने

आयोजनामा नेपालको कालिगण्डकी गर्ज हाइड्रोपावर कम्पनी, चाइना न्युक्लियर पावर ग्रुप अन्तर्गतको युनाङ सिङ हवा वाटर कन्जर्भेसन एन्ड हाइड्रोपावर र सांघाइ इन्भेष्टिगेसन डेभलपमेन्ट रिसर्च इन्टिच्युटको लगानी हुने छ ।आयोजना बनाउन करिव ४० अर्ब रुपैयाँ लाग्ने देखिएको छ ।

काठमाडौं । नेपाली र चिनियाँ संयुक्त लगानीमा निर्माण हुन लागेको १६४ मेगावाटको कालिगण्डकी गर्ज जलविद्युत आयोजनाको काम अघि बढ्ने भएको छ । गत साता काठमाडौंमा भएको लगानी सम्मेलनमा आयोजना निर्माणका लागि सम्झौता गरेको चिनियाँ कम्पनी र नेपाली साझेदारले संयुक्त लगानीमा आयोजनाको निर्माण अघि बढाउन लागेको हुन ।

आयोजनामा नेपालको कालिगण्डकी गर्ज हाइड्रोपावर कम्पनी, चाइना न्युक्लियर पावर ग्रुप अन्तर्गतको युनाङ सिङ हवा वाटर कन्जर्भेसन एन्ड हाइड्रोपावर र सांघाइ इन्भेष्टिगेसन डेभलपमेन्ट रिसर्च इन्टिच्युटको लगानी हुने छ । नेपालीको १५, चाइना न्युक्लियरको ८० र साँघाइ इन्भेष्टिगेसनको ५ प्रतिशत स्वामित्व गरी लगानी संरचना तयार पारिएको छ ।

आयोजना बनाउन करिव ४० अर्ब रुपैयाँ लाग्ने देखिएको छ । आयोजना साँझको विद्युतको माग पुर गर्न अर्धजलासय खाकामा (पिकिङ्ग) निर्माण हुने भएपछि यसको लागतमा केही हेरफेर पनि हुन सक्ने संभावना छ ।

सन् २०१९ भित्र आयोजनाको निर्माण पूर्वका सबै काम सकेर सन् २०२० को मध्यदेखि निर्माण सुरु हुने कालिगण्डकी गर्जका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले बताए । चिनियाँहरु उत्साहाकासाथ लगानी गर्न आएको बताउँदै सरकारले गरेको प्रतिवद्धता पुरा गरे आयोजनाको काम निर्धारित समयमा पुरा हुने उनको भनाई छ ।

आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणले अमेरिकी डलरमा (पीपीए) छिटो गरिदिनु पर्ने उनको माग छ । यस्तै विदेशी लगानी ल्याउन सहज गर्नुपर्ने उनको भनाई छ । क्यापिटल नेपालसंग कुरा गर्दै अध्यक्ष प्रधानले भने ‘जति छिटो पीपीए भयो त्यति नै आयोजनाको काम अघि बढ्छ । नत्र लगानीकर्ता फर्कने संभावना रहन्छ ।’ आयोजना तयारी अवस्था (रेडी टु गो) मा रहेकाले २०१९ को अन्तिमसम्म निर्माणपूर्वको काम सम्पन्न गरी ५ वर्षमा सक्ने कम्पनीको योजना रहेको प्रधानले बताए ।

सरकारले सम्मेलनमा सम्झौता भएका आयोजनाको सबै काम २ महिनाभित्र सम्पन्न हुने प्रतिवद्धता जनाएको छ । आयोजनालाई नदीको वहावमा आधारितका सट्टा पिकिङ्ग बनाइने भएको छ । रन अफ दी रिभरको कोटा सकिएकाले आयोजनालाई अर्धजालसयुक्त बनाउने तयारी भएको प्रधानले सुनाए ।

पिकिङ्ग बनाउदा आयोजनाको जडित क्षमता बढेर १८० मेगावाटसम्म पुग्ने उनको भनाई छ । चिनियाँ कम्पनीले आयोजनाको विस्तृत इन्जिनियरिङ्ग (डीपीआर) तयार गरिसकेको छ । जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्रालयले कम्पनीलाई विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिइसकेको छ । पीपीएलगायत अन्य वातावरण प्रभाव मूल्याँकन र वनको काम बाँकी रहेको उनको भनाई छ ।

गत असार पहिलो साता प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला बेइजिङस्थित नेपाली दूतावासमा आयोजनाको प्रवद्र्धक र चिनियाँ कम्पनीबीच लगानी गर्ने समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो ।

म्याग्दी र मुस्ताङ भएर बग्ने कालिगण्डकी नदीको पानीबाट विद्युत उत्पादन गर्न २०६३ सालमा आयोजनाको सर्वेक्षण भएको थियो । लामो समयदेखि प्रतीक्षामा रहेको कालीगण्डकी गर्जमा चिनीयाँ लगानी भित्रिन लागेको हो ।

२०६८ पुुस १९ गते उत्पादन लाइसेन्सका लागि विद्युत विकास विभागमा निवेदन दिएको आयोजनाले प्रक्रिया पूरा नगरेपछि लाइसेन्स नै रद्द भएको थियो । पुरानो लाइसेन्स रद्द भएपछि नेपाल कालिगण्डकी गर्ज नाममा पुरानै कम्पनीले आयोजनाको पुनः सर्वेक्षण गरेर निर्माण प्रक्रिया अघि बढाएको हो ।

मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा विद्युत गृह प्रस्ताव गरिएको छ । पाँच किलोमिटर सुरुङ रहनेछ । आयोजनाले नारच्याङमा ३ करोड रुपैयाँ मुआब्जा दिएर ३०० रोपनी जग्गा अधिग्रहण गरिसकेको छ ।

सरकारले जलासययुक्त, अर्धजलासय र नदीका वहावमा आधारित आयोजनालाई छुटैट् पीपीए दर निर्धारण गरेको छ । ऋण चुत्ता ९पे व्याक पिरियड० अर्थात १० वर्षसम्म जुन अघि हुन्छ त्यति बेलासम्मलाई डलरमा पीपीए हुने व्यवस्था गरिएको छ । विदेशी मुद्रा जोखिम न्युन गर्न सरकारले हेज फण्ड पनि कार्यन्वयनमा ल्याएको छ ।