सीमा नाका भन्सार कार्यालयमा प्रभु बैङ्कका काउन्टर सञ्चालन हुने

सम्झौतामा भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सम्बन्धमा हस्ताक्षर गरेका छन् ।

काठमाडौं । नेपाल भारत सीमामा रहेका पाँचवटा भन्सार कार्यालयहरुमा प्रभु बैङ्कले काउन्टर बैंकिङ सेवा सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर/जटही भन्सार कार्यालयहरुमा बैंकले २०७६ वैशाखदेखि बैङ्कको काउण्टरहरु सञ्चालनमा ल्याएर सेवा प्रारम्भ गर्ने गरी सम्झौता भएको हो ।

सम्झौतामा भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सम्बन्धमा हस्ताक्षर गरेका छन् । नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजस्व संकलनको आंकडामा बृद्धि हुने बिश्वास लिइएको छ ।

बैङ्कको सेवा प्रारम्भ भएसँगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयात निर्यातकर्ताहरुले सरलरुपमा बैंकिङ सेवा प्राप्त गर्नेछन् । साथै नेपाल सरकारको राजस्व संकलन प्रक्रियामा पनि यसबाट टेवा पुग्ने विश्वास बैङ्कले लिएको छ ।