१६५ करोड नाफा गर्ने सनराइज बैङ्कको प्रक्षेपण, सेयरधनीले पाउने लाभांश कति ?

बिगत तीन वर्षमा निक्षेपको औसत वृद्धि २९ तथा कर्जाको औसत वृद्धि३२ प्रतिशतको हाराहारीमा देखिन्छ । सोही आधारमा आगामी वर्षहरुमा लक्ष्य अनुसार नै वृद्धि हासिल गर्न कठिनाई नहुने अनुमान सनराइजको छ ।

काठमाडौं । सनराईज बैंङ्कले यो वर्ष १ अर्ब ६५ करोड ४० लाख रुपैयाँ खुदनाफा गर्ने भएको छ । बैंङ्कले ब्याज आम्दानीलगायत कारोबार विस्तार गरेर सो रकम नाफा गर्ने प्रक्षेपण गरेको हो ।

चालु आर्थिक वर्षमा बैंङ्कले ३ अर्ब १७ करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी हुने अनुमान गरेको छ । गत आर्थिक वर्ष बैंङ्कले १ अर्ब ४९ करोड ६० लाख रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा यो वर्ष बैंङ्कले १५ करोड ८० लाख रुपैयाँ नाफा बढाउने अनुमान गरेको हो ।

ऋणपत्र (डिवेञ्चर) निष्कासका लागि सार्वजनिक गरेको ३ वर्षको प्रक्षेपित वित्तीय विवरणमा आगामी वर्ष नाफा बढेर १ अर्ब ९० करोड ४० लाख र आर्थिक वर्ष ०७७/०७८ मा २ अर्ब १५ करोड ८० लाख रुपैयाँ पुग्ने अनुमान सनराइजको छ ।

आगामी वर्ष ३ अर्ब ७० करोड ७ लाख र ३ वर्षमा ४ अर्ब १६ करोड रुपैयाँ खुदब्याज आम्दानी गर्ने सनराइजको प्रक्षेपण छ । नाफा बढेपछि प्रतिसेयर आम्दानी (ईपीएस) मा सुधार आउने भएको छ । यो वर्ष बैंङ्कको ईपीएस २० रुपैयाँ ९४ पैसा, आगामी वर्ष २३ रुपैयाँ ३५ पैसा र ३ वर्षमा २६ रुपैयाँ ४६ पैसा हुने प्रक्षेपण गरिएको छ ।

चालु आर्थिक वर्षमा बैंङ्कको निक्षेप परिचालन २२.५४ प्रतिशत बढेर ८२ अर्ब ९४ करोड ८० लाख, आगामी वर्ष २२.१३ प्रतिशत बढेर १ खर्ब र ३ वर्षमा १८.२७ प्रतिशत बढेर १ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ पुग्ने प्रक्षेपण बैंकको छ ।

यस्तै कर्जा सापटी यो वर्ष २४.११ प्रतिशत बढेर ७३ अर्ब ८० करोड, आगामी वर्ष १७.७६ प्रतिशत बढेर ८६ अर्ब ५ करोड र ३ वर्षमा ९९ अर्ब ७५ करोड रुपैयाँ पुग्ने सनराइजको अनुमान छ । जगेडा कोषको आकार बढेर यो वर्ष ४ अर्ब ११ करोड, आगामी वर्ष ४ अर्ब ७९ करोड र ३ वर्षमा ५ अर्ब ७२ करोड रुपैयाँ पुग्ने सनराइजले जानकारी दिएको छ ।

आफ्नो दिर्घकालिन रणनीति अनुसार आफैले वित्तीय विवरणहरु तयार पारेको जानकारी दिएको छ । रणनीति बनाउँदा बैंङ्कले शुक्ष्म रुपमा बजार र सम्भावित लक्ष्यहरुको अध्ययन गरेर बनाएको हो । अघिल्लो वर्षमा रहेको अत्यधिक तरलताको चाप आगामी बर्षहरुमा सहज हुने अनुमान सनराइजको छ ।

त्यस्तै बिगत तीन वर्षमा निक्षेपको औसत वृद्धि २९ तथा कर्जाको औसत वृद्धि३२ प्रतिशतको हाराहारीमा देखिन्छ । सोही आधारमा आगामी वर्षहरुमा लक्ष्य अनुसार नै वृद्धि हासिल गर्न कठिनाई नहुने अनुमान सनराइजको छ । बैंङ्कले गत आर्थिक वर्षमा विस्तार गरेको नयाँ शाखाहरु सञ्चालनमा आइसकेकोले आगामी ३ वर्षमा अनुमान गरिएको सञ्चालन आम्दानी तथा नाफा सजिलै प्राप्त गर्न सकिने दावी सनराइजको छ ।

वित्तीय विवरण तथा प्रक्षेपणको अनुमान तथा आधारहरु हालको वित्तीय बजारको स्थिति, निष्काशनकर्ता कम्पनीको हालको दक्षता र निष्काशनकर्ता कम्पनीले प्राप्त गरेको हालसम्मको कार्य प्रगतिको आधारमा पुनरावलोकन गरी विवरण ठीक भएको मदन निरौला एण्ड कम्पनीका चार्टर्ड एकाउन्टेन्ट्स मदनकुमार निरौलाले प्रमाणित गरेको बैंङ्कले जनाएको छ ।

गत बुधबारदेखि सनराइजले १ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । लगानीका लागि स्रोत जुटाउन प्रतिकित्ता १ हजार रुपैयाँ दरको १० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । ऋणपत्रको ब्याजदर वार्षिक १० प्रतिशत रहेको छ । ऋणपत्र २०८० मा फिर्ता हुने छ । कुल निष्कासन मध्ये ४ लाख कित्ता सर्वसाधारण र ६ लाख कित्ता संस्थागत लगानीकर्तालाई छुट्टाइएको छ ।

न्युनतम २५ हजारदेखि अधिकतम ४० करोड रुपैयाँसम्म आवेदन दिन पाइने प्रभुले जनाएको छ । ऋणपत्र निष्कासन बन्द छिटोमा आउँदो सोमबार र ढिलोमा बैंशाख २९ गतेसम्मलाई तोकिएको छ । ऋणपत्रबाट संकलन गरेको पुँजीमध्ये ८० करोड रुपैयाँ कर्जा सापटी, २० करोड रुपैयाँ तरलता व्यवस्थापन तथा व्यवसाय विस्तारमा लगानी गर्ने बैंङ्कले जानकारी दिएको छ ।