आइएमई लाइफ इन्स्योरेन्स र जनता बैङ्कबीच बैङ्क अस्योरेन्स सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैङ्क नेपाल लिमिटेडबीच बैङ्क अस्योरेन्स सम्झौता गरेको छ । बैङ्क अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैङ्क नेपाल लिमिटेडकातर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्रीले हस्ताक्षर गरेका हुन ।

बैङ्क अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैङ्कका गा्रहकहरुले जनता बैङ्क नेपाल लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जनकारी प्राप्त गर्न सक्ने छन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ४२ स्थानबाट बिभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बाल शिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजना ल्याएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको छ ।