चार वर्षभित्र सबै जनतालाई बिजुली

४ वर्षभित्रै सबै जनतालाई बिजुली सेवा दिने तयारी भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यसका लागि विद्युत उत्पादन तथा वितरण प्रणालीमा सुधार भइरहेको उनले जानकारी दिए । घिसिङले सोमबार पत्रकार सम्मेलन आयोजना गरी ३ हजार मेगावाटसम्म बिजुली आपूर्ति गर्न ६० ओटा सबस्टेसन निर्माण भएको बताए ।

काठमाडौं । ४ वर्षभित्र ७५३ स्थानीय तहका जनताले बिजुली बाल्न पाउने भएका छन् । हाल ७० प्रतिशत जनसंख्यामा केन्द्रीय प्रणालीबाट बिजुली सेवा पुगेकोमा आर्थिक वर्ष ०८०/८१ सम्म सबै स्थानीय तहका ५८ लाख ५० हजार घरधुरीमा बिजुली सेवा पुग्ने भएको हो ।

४ वर्षभित्रै सबै जनतालाई बिजुली सेवा दिने तयारी भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । यसका लागि विद्युत उत्पादन तथा वितरण प्रणालीमा सुधार भइरहेको उनले जानकारी दिए । घिसिङले सोमबार पत्रकार सम्मेलन आयोजना गरी ३ हजार मेगावाटसम्म बिजुली आपूर्ति गर्न ६० ओटा सबस्टेसन निर्माण भएको बताए ।

आफूले विद्युत प्राधिकरणको कमान्ड सम्हालेपछि देशबाट लोडसेडिङको अन्त्य हुनुका साथै ९ अर्ब रुपैयाँ सञ्चित नोक्सानमा रहेको संस्था नाफामा गएको उनले जानकारी दिए । पछिल्लो समयमा प्राधिकरण व्यवस्थापनलाई कमजोर बनाएर लोडसेडिङ गराउने खेलमा केही तत्व लागेको र यसलाई निस्तेज पार्ने उनले बताए । आफ्नो कार्यकालमा १० प्रतिशत बिजुली चुहावट घटाएको उनले दाबी गरे ।

सरकारले सबै स्थानीय तहमा बिजुली सेवा पुर्याउन ५ वर्षमा विद्युत उत्पादन जडित क्षमता ५ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ । साथै सार्वजनिक, निजी साझेदारीका अतिरिक्त वैदेशिक लगानीबाट आर्थिक वर्ष ०८०/०८१ सम्म बिजुली उत्पादन बढाएर ५ हजार मेगावाट पुर्याउने उसको योजना छ ।

सरकारले तयार पारेको १५औं योजनाको आधारपत्रमा जलविद्युतको तीव्र उत्पादन गरी ऊर्जा सुरक्षा सुनिश्चित गर्ने लक्ष्य पूरा गर्ने उल्लेख छ । हालसम्म जडित क्षमता १ हजार १०० मेगावाट छ । ५ वर्षमा प्रणालीमा ४ हजार मेगावाट बिजुली थप हुनेछ । प्रतिव्यक्ति बिजुली खपत ७०० युनिट पुग्ने आधारपत्रमा उल्लेख छ । हाल प्रतिव्यक्ति बिजुली खपत १९८ युनिट छ ।

यस अवधिमा ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोसीलगायत सानाठूला ३ दर्जन आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । यो वर्ष १०० मेगावाटभन्दा बढी बिजुली थप हुनेछ । निजी क्षेत्रबाट निर्माण भइरहेको ८६ मेगावाटको सोलु दूधकोसी, ८२ मेगावाटको तल्लो सोलुलगायत ९०० मेगावाटको अरुण तेस्रो आयोजना पनि सम्पन्न हुनेछ ।

हालसम्म राष्ट्रिय ग्रिडबाट बिजुली सेवा पाउनेको सङ्ख्या ७० प्रतिशत पुगेको छ । ६२३ स्थानी तहमा विद्युत पूर्वाधार पुगेको छ । विद्युत चुहावट २० प्रतिशतबाट घटाएर १४ प्रतिशतमा झार्ने लक्ष्य सरकारको छ ।