जनतालाई लोडसेडिङमा राख्न खेल सुरु : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पुनः लोडसेडिङ गराएर मुलुकलाई अन्धकारमा पुर्याउने खेल सुरु भएको बताएका छन् । मुलुकमा लोडसेडिङ गराएर लाभ लिन पल्केका पुनः सल्बलाउन थालेको घिसिङले जानकारी दिए ।

प्राधिकरण व्यवस्थापनमाथि बाहिर र भित्रबाट लगातार प्रहार गरेर कमजोर बनाउने खेल सुरु भएको कार्यकारी निर्देशक घिसिङले दावी गरे । उनले संस्था र नेतृत्वलाई कमजोर बनाएर देशलाई अन्धकारमा राख्नलाई खेल सुरु भएको र यसलाई निस्तेज पार्ने बताए ।

“म कार्यकारी निर्देशक भएपछि लोडसेडिङको अन्त्य हुनुका साथै ९ अर्ब रुपैयाँ संचित नोक्सानमा रहेको विद्युत प्राधिकरणलाई नाफामा लैजादा केहीलाई चित्त नबुझेपछि वदनाम गराउने खेल सुरु भएको छ” उनले भने ।

घिसिङले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी प्राधिकरण व्यवस्थापन विरुद्ध विभिन्न अनर्गल प्रचार गरेर कमजोर बनाउने खेल भइरहेकाले र यसलाई सफल हुन नदिने दावी गरे । ६० लाख रुपैयाँ भत्ता बुझेको आरोपको खण्डन गर्र्दै उनले एक वर्षमा वैठक भत्ता ६ लाख रुपैयाँ मात्र लिएको जानकारी दिए ।

८० प्रतिशत प्रगति भएपछि विशेष सुविधा पाउने करार सम्झौतामा भएको व्यवस्थाअनुसार मासिक २ लाख रुपैयाँका दरले एक वर्षमा २४ लाख रुपैयाँ पाएको उनले जानकारी दिए । आफुले कार्यभार सम्हालेयता विद्युत चुहावट १० प्रतिशत घटाएको, ३ हजार मेगावाट बिजुली आपूर्ति गर्नका लागि ६० वटा विभिन्न क्षमताको सवस्टेशन निर्माण सम्पन्न गरेको जानकारी दिए ।

यस्तै विरामी अवस्थामा रहेका ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए र १४ मेगावाटको कुलेखानी तेस्रो आयोजना सम्पन्न हुने अवस्थामा पुगेको उनले पत्रकार सम्मेलनमा सुनाए । प्राधिकरणले माथिल्लो अरुण, दुधकोसी र तामाकोसी पाँचौ आयोजना निर्माण गर्न लागेको घिसिङले बताए ।