४० मेगावाट बिजुली थपियो, असारसम्म थप ११ आयोजना सम्पन्न हुँदै, कसको कति (सूचीसहित)

साउनयता ८.८ मेगावाटको रुदी ए, २२ मेगावाटको वाग्मतीखोला, ७.८ मेगावाटको सुपरमाई, ९ किलोवाटको सुवुवाखोला र ९६ किलोवाटको सोलारबाट राष्ट्रिय प्रणालीमा बिजुली थप भएको छ । यी समेत गरी जलविद्युतको जडित क्षमता १ हजार १०० मेगावाट नाघेको छ ।

काठमाडौं । आर्थिक वर्ष सुरु भएयता निजी लगानीमा निर्माण भएका ५ ओटा आयोजना सम्पन्न भई प्रणालीमा ४० मेगावाट बिजुली थप भएको छ ।

साउनयता ८.८ मेगावाटको रुदी ए, २२ मेगावाटको वाग्मतीखोला, ७.८ मेगावाटको सुपरमाई, ९ किलोवाटको सुवुवाखोला र ९६ किलोवाटको सोलारबाट राष्ट्रिय प्रणालीमा बिजुली थप भएको छ । यी समेत गरी जलविद्युतको जडित क्षमता १ हजार १०० मेगावाट नाघेको छ ।

प्रगतिअनुसार पछिल्लो समयमा सार्वजनिक र निजी क्षेत्रबाट गरी १६ ओटा आयोजना सम्पन्न भई प्रणालीमा २३२ मेगावाट बिजुली थप हुने अनुमान गरिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । उनका अनुसार निजी क्षेत्रबाट १४ आयोजना सम्पन्न भई १५८ र प्राधिकरणबाट २ आयोजना पूरा भई ७४ मेगावाट बिजुली थप हुने छ ।

६० मेगावाटको माथिल्लो त्रिशूली ३ ए आयोजनाको परीक्षण उत्पादन भइरहेकाले आउँदो असारसम्म आउने निश्चित भएपनि १४ मेगावाटको कुलेखानी भन्न नसकिने उनले स्पष्ट पारे ।

लक्ष्यमा राखिएकोमध्ये निजी क्षेत्रबाट ८ ओटा आयोजना सम्पन्न हुन बाँकी छ । असारसम्म विद्युत् उत्पादनको प्रक्षेपण गरिएका आयोजनाहरुमा २३.५ मेगावाटको माथिल्लो सोलु, २५ मेगावाटको कावेली बी १, २१.६ मेगावाटको तल्लो हेवा, २० मेगावाटको तल्लोमोदी, ९.९ मेगावाटको इवाखोला, ८ मेगावाटको माथिल्लो नौगाड, ७ मेगावाटको माथिल्लो मार्दी, ३.३ मेगावाटको कपडीगाडा र १० किलोवाटको मिदिमखोला आयोजना रहेका छन् ।

सोलुदेखि सिरहासम्म १३२ केभी प्रसारणलाइन निर्माणमा भएको ढिलाइले माथिल्लो सोलुको काम सकिए पनि विद्युत् आपूर्ति हुने संभावना कम रहेको छ ।

आगामी वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोसीलगायत ४३ आयोजना सम्पन्न भई प्रणालीमा १ हजार १५० मेगावाट बिजुली थप हुने अनुमान गरिएको उनले जानकारी दिए । गत वर्ष १०० मेगावाट बिजुली थप भएको थियो । पछिल्लो ३ वर्षमा बिजुली उत्पादन वार्षिक १०० मेगावाट बढीले थपिदै आएको छ ।