उद्योगी दिवाकर गोल्छाको निधन

भारतको चेन्नईमा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । गोल्छाको मिर्गौलामा समस्या भएपछि ट्रान्सप्लान्ट गरेको दुईहप्तामै निधन भएको हो ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष एवम् उद्योगी दिवाकर गोल्छाको ६७ वर्षको उमेरमा निधन भएको छ । भारतको चेन्नईमा उपचारका क्रममा मंगलबार राति निधन भएको पारिवारिक श्रोतले जनाएको छ । गोल्छाको मिर्गौलामा समस्या भएपछि ट्रान्सप्लान्ट गरेको दुईहप्तामै निधन भएको हो ।

नेपाली काँग्रेसबाट पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासदसमेत बनेका गोल्छाको दुई छोरा छन्। उद्योगी गोल्छाको अगुवाईमा २४ ओटा उद्योगहरु स्थापना भएको थियो । गोल्छा अर्गनाइजेसनका हुलास वायर, खाद्यन्न, श्रीराम सुगर मिल, इष्र्न सुगर मिल, हुलास जस्तापातालगायत थुपै्र उद्योगहरु छन् ।

गोल्छाको शव बिहीबारसम्म नेपाल ल्याउने र पशुपति आर्यघाटमा अन्त्यष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ । गोल्छाको निधनले नेपालको औद्योगिक क्षेत्रमा अपुरणीय क्षेति पुगेको उद्योगीहरु बताउँछन् ।

यसैबीच, गोल्छाको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । कांग्रेसले बुधबार बिहान जारी गरेको एक शोक वक्तव्यमा ‘पूर्व सांसद एवं प्रसिद्ध उद्योगपति दिवाकरण गोल्छाको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै मृतकको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।’ भनी उल्लेख गरेको छ ।

कांग्रेस सभापति देउवाले गोल्दाको निधनबाट नेपालको औद्योगिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतिलाई गुमाउनु परेको बताएका छन् । सभापति देउवाले स्वर्गीय गोल्छा नेपालको औद्योगिक क्षेत्रमा एक सम्मानित व्यक्तित्व भएको उल्लेख गर्दै मृतकको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।