जनता आवास कार्यक्रमले गाउँकै मुहार फेरियो

झट्ट हेर्दा पर्यटकीयबस्ती जस्तो देखिने उक्त गाउँमा नेपाल सरकारको जनता आवास कार्यक्रमले स्थानीयवासीका घरनिर्माण गर्दा रमाइला देखिएका हुन् ।

डोटी । कुनै बेला जताततै फोहर देखिने जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ को पिपल्ला तथा राजपुरस्थित ढोलपडा गाउँ हिजोआज निकै झिलिमिली र सफासुग्घर देखिन थालेको छ । झट्ट हेर्दा पर्यटकीयबस्ती जस्तो देखिने उक्त गाउँमा नेपाल सरकारको जनता आवास कार्यक्रमले स्थानीयवासीका घरनिर्माण गर्दा रमाइला देखिएका हुन् ।

गाउँभरीमा एकै नासका घर र एकै रङ्गका जस्तापाताले छाउँदा गाउँनै रमाइलो देखिएको राजपुरका बासिन्दा लोकेन्द्रबहादुर शाहीले बताए । उनले भने, ‘गाउँभरिका घर एकै किसिमका र एउटै रङ्गका भएकाले यहाँका गाउँ अहिले सुन्दर र रमाइला भएका छन् ।’ नता आवास कार्यक्रमले घर निर्माण गरेसँगै यहाँका स्थानीयवासीको व्यवहार, सरसफाइ तथा खानपिनमासमेत परिर्वतन आएको छ ।’ अहिले ती गाउँका बालबालिकासमेत नियमित स्कुल जान थालेका स्थानीयवासी बताउँछन् ।

घर निर्माणसँगै प्रत्येक घरमा निजी धारासमेत जडान गरिएका कारण यहाँका स्थानीयवासीले अहिले साग तरकारीलगायतका अन्यखेती गर्न थालेकास्थानीयवासी तथा नेकपाका नेता अशोक बरालले बताए । उनले भने, ‘जमीन भए पनि पहिले पानी थिएन, अहिले घर÷घरमा धाराभएका कारण स्थानीयवासी तरकारीलगायतका अन्यखेतीमा व्यस्त हुन थालेकाछन् ।’ निर्माण गरिएका घर भूकम्पप्रतिरोधीसमेत भएका कारण यहाँका स्थानीयवासी झनै ढुक्कका साथ आफ्नो घरमा रमाइरहेका पिपल्ला गाउँकी ६७ वर्षीया कन्थरी विश्वकर्माले बताइन् ।

उनले भनिन्, ‘पहिले कच्ची घर थियो, सानो हावाहुरी आउँदा पनि डर लाग्थ्यो अहिले त पक्की घर छ, जस्तो हावाहुरी आए पनि डर लाग्दैन ।’ पिपल्ला र ढोलपडा गाउँमा जनता आवास कार्यक्रमले घर बनाइदिँदा पिपल्ला र ढोलपडा गाउँका मात्रै २४ भन्दा बढी दलित घरपरिवार लाभान्वित भएका छन् ।

यहाँका गाउँका दुई दजर्न बढी विपन्न दलित घरपरिवारलाई सरकारले रु दुई लाख ३३ हजार ७०० को लागतमा दुई कोठे घर निर्माण गरेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका डिभिजन प्रमुख झप्पसिंह विश्वकर्माले बताइन् । उनले भनिन्, ‘हामीले विपन्न परिवारका लागि दुई कोठे घर, भान्सा र शौचालय बनाएका छौ, अहिले बस्तीको मुहार नै फेरिएको छ ।’ विषेशगरी शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले सुदूरपश्चिमका अछाम, बाजुरा, बझाङ, डडेल्धुरा र डोटीमा रहेका विपन्न दलिद परिवार तथा राउटे परिवारलाई लक्षित गरी जनता आवास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यहाँका पहाडी जिल्लामा रहेका विपन्न तथा दलित परिवारका लागि घरनिर्माण भइरहे पनि डडेल्धुरा आमपानीका राउटे र दिपायलका वादीसमुदायसँग आफ्नो जमीन नभएकाले भवन निर्माण गर्नमा कठिनाई भएको डिभिजन प्रमुख विश्वकर्माले बताए । जनता आवास कार्यक्रमले आफूहरुका घरनिर्माण गरेको भन्दै पिपल्लाका विपन्न दलिद समुदाय निकै खुशी भएको स्थानीय कृष्णबहादुर विकले बताए ।

पुराना तथा भत्किने अवस्थाका सबै घर हटाएर नयाँ तथा रङ्गीचङ्गी घर निर्माण भएपछि यहाँको दलिद बस्ती हेर्नलायक तथा आर्कषक भएको दिपायल पिपल्लास्थित गैराका स्थानीय वीरभान विश्वकर्माले बताए । उक्त कार्यालयक्रमले अछाममा १४, बाजुरामा १२, बझाङमा १०, डडेल्धुरामा सात घर निर्माण गरेको र केही घर निर्माणको प्रक्रियामै रहेको शहरी डिभिजन कार्यालयले जनाएको छ । रासस