अन्पूर्णमा एक घर, एक धारा अभियान तीव्र, चालू आर्थिक वर्षमा १००० घरधुरीमा धारा पुर्याउने लक्ष्य

अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरका अनुसार विभिन्न वडा एवं स्थान विशेष योजना अघि सारिएकामा कतिपय योजना सम्पन्न भइसकेका छन् भने कतिपय सम्पन्न हुने क्रममा छन् ।

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले उँपालिकाभित्र एक घर, एक धारा अभियानलाई तीव्र पारेको छ । गाउँपालिकाको नीति तथा कार्यक्रममा एक घर, एक धारा अभियान सञ्चालन गर्ने उल्लेख गरिएअनुरुप चालू आर्थिक वर्षमा यहाँका एक हजार घरधुरीमा घरघरमा धारा पु¥याउने लक्ष्यका साथ काम अघि बढाइएको हो ।

गाउँपालिका अध्यक्ष युवराज कुँवरका अनुसार विभिन्न वडा एवं स्थान विशेष योजना अघि सारिएकामा कतिपय योजना सम्पन्न भइसकेका छन् भने कतिपय सम्पन्न हुने क्रममा छन् । स्थानीय अवस्थाका आधारमा १० देखि २० प्रतिशत जनश्रमदानसहित वडाले खानेपानीका लागि लगभग रु तीन करोड छुट्याएको उनले जानकारी दिए । गाउँपालिकाले चालू योजनामा गाउँपालिकाको वडा नम्बर १ को लेवाडेका साथै र कुँवरगाउँ, नेपाली थर, भुवाइँ थर र फल्ला पानीलाई लक्षित गरी खानेपानी योजना अघि बढाएको छ ।

त्यस्तै वडा नम्बर २ को सेराचौर, वडा नम्बर ३ को पाउँदुरकोट, दमदमे, भिरमुनि दलितबस्ती, वडा नम्बर ४ को सल्यान, ५ को पुरानोगाउँ दलित बस्ती, वडा नम्बर ८ को बीरेठाँटी, ९ को तिखेढुङ्गा, १० को सिमे खानेपानी, ११ को छोम्रोङ्गलगायतका स्थानमा खानेपानीका योजना सञ्चालन गरेको छ । वडा नम्बर ६ मा सङ्घीय बजेटअनुरुप नै खानेपानी योजना सञ्चालनमा छ ।

सञ्चालित योजनामध्ये कतिपयको काम सकिइसकेको र कतिपय सकिने क्रममा रहेको जानकारी दिँदै अध्यक्ष कुँवरले आगामी जेठको पहिलो सातासम्म सम्पूर्ण काम सक्ने गरी काम तीव्ररूपमा अघि बढेको जानकारी दिए ।