यो व्यवस्था २०७६ साल वैशाख १ गतेदेखि लागू हुने छ । नेपाल राष्ट्रबैङ्कले बुधबार नै नेपालका सबै बैङ्कहरुलाई यो व्यवस्था लागू गर्नका लागि परिपत्र गरिसकेको बुझिएको छ ।
काठमाडौं । सरकारले वैशाख १ गतेदेखि जुनसुकै बैङ्क तथा वित्तीय संस्थामा खाता खोलेमा १ सय रुपैयाँ खातामा पैसा जम्मा हुने व्वस्था गरेको छ । हरेक नेपालीको बैङ्क खाता अनिवार्य गराउने उद्देश्यले सरकारले ‘खोलौँ बैङ्क खाता’ अभियान अन्तर्गत सरकारले यस्तो व्यवस्था लागू गरेको हो । यो व्यवस्था २०७६ साल वैशाख १ गतेदेखि लागू हुने छ । नेपाल राष्ट्रबैङ्कले बुधबार नै नेपालका सबै बैङ्कहरुलाई यो व्यवस्था लागू गर्नका लागि परिपत्र गरिसकेको बुझिएको छ ।
राष्ट्रबैङ्कको निर्देशनअनुसार जुन सुकै बैङ्क तथा वित्तीय संस्थाले आफ्नो शाखामा खाता खोल्ने नागरिकको खातामा एक सय रुपैयाँ पैसा जम्मा गरिदिनु पर्ने छ । राष्ट्रबैङ्कका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको रकमबाट खाता खोल्ने आफ्ना सेवाग्राहीको नाममा १०० रुपैयाँ जम्मा गर्न सकिने छ । तर, ग्रहकले खाता खोल्दा अन्य वैङ्क खाता नभएको स्वघोषणा दिनुपर्ने छ ।
सबै नेपाली नागरिक बैङ्कको पहुँचमा पुग्न सकुन् भन्ने उद्देश्ले सरकारले यस्तो अभियान सञ्चालन गरेको जनाएको छ । राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका २०७५ मा नयाँ व्यवस्था अनुसार खाता खोल्दा नगरिकताको प्रमाणपत्र अथवा राहदानी वा फोटोसहितको मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्रको आधारमा खाता खोल्न सकिने छ ।
यो अभियान अन्तरगत खोलिएका खाताको वार्षिक कारोबारको अधिकतम सीमा १ लाख रुपैयाँ रहेको छ । त्यसभन्दा बढी कारोबार गर्नका लागि भने केवाइसी भर्नुपर्छ । ‘खोलौँ बैङ्क खाता’ अभियानको वैशख १ गते आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।