राष्ट्रिय प्रसारण तथा ग्रीड कम्पनीले सरकारबाट थप ५० करोड रकम  उठाउँदै, कुन मन्त्रालयबाट कति (सूचिसहित)

४८ प्रतिशत नेपाल विद्युत प्राधिकरण र ५२ प्रतिशत मन्त्रालयहरुको स्वामित्व रहेने गरी लगानी संरचना तयार पारिएको छ । कम्पनी स्थापना हुँदै लगानी संरचना तयार पारिएको हो ।

काठमाडौं । प्रसारणलाइन निर्माणका लागि स्थापना भएको राष्ट्रिय प्रसारण तथा ग्रीड कम्पनी लिमिटेडले सरकारबाट थप ५० करोड रुपैयाँ उठाउँने भएको छ । कम्पनीको हालै सम्पन्न सञ्चालक समिति बैठकले सरकारबाट सेयरवापत ५० करोड रुपैयाँ उठाउँने निर्णय गरेको हो । ४८ प्रतिशत नेपाल विद्युत प्राधिकरण र ५२ प्रतिशत मन्त्रालयहरुको स्वामित्व रहेने गरी लगानी संरचना तयार पारिएको छ । कम्पनी स्थापना हुँदै लगानी संरचना तयार पारिएको हो ।

कम्पनीको संस्थापक सेयरधनीमा नेपाल विद्युत प्राधिकरण, अर्थ, ऊर्जा जलस्रोत तथा सिंचार्इ, रक्षा, गृह वन तथा वातावरण, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा सहकारी, सुचना तथा सञ्चार मन्त्रालयबाट सेयर पुँजीको रुपमा ५० करोड रुपैयाँ उठाउन लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.नेत्रप्रसाद ज्ञवालीले बताए ।

कम्पनीले ३० दिनभित्र सेयर वापतको रकम बुझाउन भनेको छ ।अर्थले १० करोड ६६ लाख ६६ हजार ८००, ऊर्जाले २३ करोड २३ लाख २३ हजार ६० सय रुपैयाँ सेयर लगानी गर्ने भएका छन् । यस्तै रक्षा, गृह, भूमि व्यवस्था र सुचना मन्त्रालयले जनही २ हजार ६६ लाख ६६ हजार ६०० रुपैयाँ गरी १५ करोड ९९ लाख ९९ हजार ६०० रुपैयाँ सेयर लगानी गर्ने भएका छन् ।

प्राधिकरणको स्वामित्व कम्पनीमा सर्ने भएकाले उसले सम्पत्तिको मूल्याँकन गरेर ४८ प्रतिशत अर्थात ४६ करोड रुपैयाँ स्वपुँजी लगानी गर्ने ज्ञवालीले जानकारी दिए । हाल कम्पनी पुर्ण सरकारी स्वामित्वमा रहेको छ ।

सेयर पुँजी बढ्दै जाने उनले जानकारी दिए । सरकारले विद्युत प्राधिकरणलाई खण्डीकरण गर्नका लागि बेग्लै कम्पनी खडा गरेको हो । कम्पनीले हाल ठूला प्रसारणलाइन निर्माणका लागि सम्भाव्यता अध्ययन गरिरहेको छ ।