डलर बढ्दा राष्ट्र बैंकले कमायो ३८ अर्ब

राष्ट्र बैंङ्कको सम्पत्तिको रुपमा रहेको वैदेशिक मुद्राको सटही दरमा हुने सामान्य घटबढले समेत उसको वित्तीय स्थितिमा ठूलो असर पर्ने महालेखा परीक्षकको कार्यलयले जनाएको छ ।

काठमाडौं । विदेशी मुद्रा सटही दरमा परिवर्तन हुँदा नेपाल राष्ट्र बैंकले अर्बौ रुपैयाँ आम्दानी गरेको छ । अमेरिकी डलर ६.४८ प्रतिशतले वृद्धि भएपछि केन्द्रीय बैंङ्कले ३८ अर्ब २७ करोड नाफा गरेको छ ।

राष्ट्र बैंङ्कको सम्पत्तिको रुपमा रहेको वैदेशिक मुद्राको सटही दरमा हुने सामान्य घटबढले समेत उसको वित्तीय स्थितिमा ठूलो असर पर्ने महालेखा परीक्षकको कार्यलयले जनाएको छ । आर्थिक वर्ष ०७३/०७४ मा अमेरिकी डलरमा ३.६३ प्रतिशत गिरावट आउँदा २३ अर्ब ७५ करोड रुपैयाँ राष्ट्र बैंङ्कले घाटा खाएको थियो ।

विनिमय दर परिवर्तनबाट हुने जोखिम न्यूनीकरण गर्न हेजिङ लगायतका उपयुक्त वित्तीय उपकरणको व्यवस्था मिलाउन महालेखाले सुझाएको छ । केन्द्रीय बैङ्कको आम्दानी अघिल्लो वर्ष १९ अर्व ६८ करोड ८५ लाख रहेकोमा गत बढेर २७ अर्व ८९ करोड २ लाख रुपैयाँ पुगेको छ ।