बाहिरी चक्रपथको कामै नभई झन्डै ११ करोड स्वाहा

हालसम्म १७.५ किलोमिटरको डीपीआर तयार हुँदै गरेको उल्लेख गरिएपनि बाहिरी चक्रपथ निर्माण सुरु कहिलेदेखि हुन्छ भन्ने अनिश्चित नै रहेको प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौं । काठमाडौं उपत्यकाका ३ जिल्लालाई एक फन्को लगाउने र नयाँ व्यवस्थित सहर विकास गर्ने उद्धेश्यका साथ अघि बढाइएको बाहिरी चक्रपथ आयोजनामा कामै नभई १० करोड ८२ लाख रुपैयाँ खर्च भएको छ । ७२ किलोमिटर लम्वाईको उक्त सडक आयोजना २०६१ मा सुरु भएपनि हालसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), जग्गा एकीकरण र वातावरणीय प्रभाव मुल्यांकन तयार नभई सो रकम खर्च भइसकेको महालेखापरीक्षको प्रतिवेदनमा उल्लेख छ ।

हालसम्म १७.५ किलोमिटरको डीपीआर तयार हुँदै गरेको उल्लेख गरिएपनि बाहिरी चक्रपथ निर्माण सुरु कहिलेदेखि हुन्छ भन्ने अनिश्चित नै रहेको प्रतिवेदनमा उल्लेख छ । सहरी विकास मन्त्रालयअन्र्तगतको काठमाण्डौं उपत्यका विकास प्राधिकरणअन्तर्गत अघि बढेको बाहिरी चक्रपथ विकास आयोजना जग्गा प्राप्तिको समस्याको समस्याले अघि बढ्न सकेको छैन् ।

पहिलो चरणमा सतुङ्गलदेखि चोभारसम्मको चक्रपथ निर्माण अगाडि बढाइने भनिएपनि जग्गाकै विवादले काम अघि बढ्न सकेको छैन ।