चिलिमे हाइड्रोपावरले बनाउने भयो ५ आयोजना, जडित क्षमता १ हजार मेगावाट पुग्ने

चिलिमेले आयोजनाको सम्भाव्यता अध्ययन गरिरहेको छ । विस्तृत इन्जिनियरिङ (डीपीआर)को काम सकिएपछि आयोजनाको जडित क्षमता र लागतको खाका आउनेछ । पाँच ओटै आयोजना सरकारले जनताको जलविद्युतमा राखेको छ । जनताको जलविद्युतमार्फत साधारण सेयर (आईपीओ) निष्कासन हुनेछ ।

काठमाडौं । सार्वजनिक निजी साझेदारीमा स्थापना भएको चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले ६३८ मेगावाटका ५ ओटा जलविद्युत आयोजना बनाउने भएको छ । कम्पनीले ६० मेगावाटको बूढीगण्डकी स्यारखोला, १०० मेगावाटको बूढीगण्डकी प्रोक, २४० मेगावाटको बूढीगण्डकी प्रोक २, ७५ मेगावाटको बूढीगण्डकी क र १६३ मेगावाटको सेती नदी तेस्रो आयोजना बनाउन लागेको हो ।

चिलिमेले आयोजनाको सम्भाव्यता अध्ययन गरिरहेको छ । विस्तृत इन्जिनियरिङ (डीपीआर)को काम सकिएपछि आयोजनाको जडित क्षमता र लागतको खाका आउनेछ । पाँच ओटै आयोजना सरकारले जनताको जलविद्युतमा राखेको छ । जनताको जलविद्युतमार्फत साधारण सेयर (आईपीओ) निष्कासन हुनेछ ।

कम्पनीले २२ मेगावाटको चिलिमे आयोजना सञ्चालन गरिरहेको छ । डेढ वर्षपछि चिलिमे र उसको सहायक कम्पनीबाट गरी २९२ मेगावाट बिजुली उत्पादन हुनेछ । यी आयोजना एकदेखि डेढ वर्षभित्र सम्पन्न हुँदै छन् । रसुवागढीबाट १११, मध्यभोटेकोसीबाट १०२, माथिल्लो सान्जेनबाट १४.५ र तल्लो सान्जेनबाट ४२.५ मेगावाट बिजुली उत्पादन हुने भएको छ । दुवै सान्जेन आउँदो पुसभित्र र रसुवागढी फागुन र मध्यभोटेकोसीमा केही ढिलाइ हुनेछ । सान्जेन आयोजना १ अर्ब ५७ करोड रुपैयाँबराबरको १ करोड ५७ लाख कित्ता आईपीओ निष्कासन गर्दै छन् ।

आयोजनाको अध्ययन भइरहेको चिलिमेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव कोइरालाले बताए । उनले हाल अयोजनाको सम्भाव्यता अध्ययन भइरहेको र केहीको सरकारबाट सम्भाव्यता अध्ययन अनुमतिपत्र (लाइसेन्स) पाउन बाँकी रहेको उनले सुनाए । निर्माण सम्पन्न, निर्माणाधीन र प्रस्तावित आयोजना सम्पन्न भएपछि चिलिमेले सहायक कम्पनीबाट मात्रै १ हजार बढी मेगावाट बिजुली उत्पादन गर्नेछ ।

प्रस्तावित आयोजनाको सम्भाव्यता अध्ययन भइरहेकाले जडित क्षमता बढ्ने सम्भावना छ । हाल विद्युत प्राधिकरण र निजी क्षेत्रबाट गरी १ हजार १०० मेगावाट बिजुली उत्पादन भइरहेको छ ।

चालू आर्थिक वर्ष ०७५/७६ देखि सरकारलाई संस्थागत आयकर (कर्पोरेट ट्याक्स) तिर्नुपर्ने भएको छ । यो आर्थिक वर्षमा गरेको नाफाबाट कम्पनीले सरकारलाई २० प्रतिशत आयकर तिर्नुपर्ने भएको हो । आयकर तिर्नुपरेपछि यो वर्षदेखि लगानीकर्ताले पाउने लाभांश पनि घट्नेछ ।

सरकारले दिएको १५ वर्षको कर छुट गत आर्थिक वर्षदेखि सकिएकाले यो वर्षदेखि तिर्नुपर्नेछ । यो वर्षदेखि २० प्रतिशत आयकर तिर्ने कोइरालाले जानकारी दिए । आयकर बुझाएपछि लगानीकर्ताले पाउने लाभांश १८ करोड रुपैयाँसम्म घट्ने देखिएको छ । गत आर्थिक वर्ष ०७४÷७५ मा ९३ करोड ७१ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत आर्थिक वर्षको नाफाबाट चिलिमेले २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । यसअनुसार ५ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव सञ्चालक समितिले गरेको छ । जलविद्युत आयोजनाका लगानीकर्तालाई थप प्रोत्साहित गर्न सरकारले १० वर्ष पूरै र ५ वर्ष आधा कर छुट दिएको छ ।

चिलिमेले आर्थिक वर्ष ०६०÷६१ देखि बिजुली उत्पादन थालेको हो । आयकरको दायरामा आउने चिलिमे पहिलो जलविद्युत कम्पनी हो । सरकारले जलविद्युत कम्पनीलाई १५ वर्षसम्म कर छुट दिएको छ । २७० मेगावाटका ४ ओटा आयोजना सञ्चालनमा आएपछि आगामी २ वर्षदेखि चिलिमिले वार्षिक ६० करोड रुपैयाँभन्दा बढी लाभांश सहायक कम्पनीबाट पाउनेछ । ४ आयोजनामा चिलिमेले साढे ५ अर्ब रुपैयाँ लगानी गरेको छ ।