एक वर्षअघि पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा सफ्ट लन्च गरिएको सो होटलको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक उद्घाटन गरेका हुन् ।
काठमाडौं । सोल्टी होटल लिमिटेड र सिविक्रम होल्डिङ्सको संयुक्त लगानीमा सञ्चालनमा आएको सोल्टी वेस्टेन्ड प्रिमियर होटलको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । एक वर्षअघि पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा सफ्ट लन्च गरिएको सो होटलको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक उद्घाटन गरेका हुन् ।
काठमाडौंको होटल सोल्टी ५० वर्ष पूरा गरेको अवसरमा नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रिमियर होटल सञ्चालनमा ल्याइएको थियो । सुरुमा चारतारे सुविधासहित सञ्चालनमा आएको होटलले स्तरोन्नति गरेपछि पाँचतारे होटलको प्रमाणपत्र पाएको थियो । पर्यटन विभागले वातावरणीय प्रभाव मूल्यांकन र अन्य पूर्वाधार तथा सुविधाको आधारमा मूल्यांकनपछि पाँचतारे होटलमा स्तरोन्नतिको प्रमाणपत्र दिएको हो ।
नेपालमा पाँचतारे होटलको अवधारणा र अन्तराष्ट्रियस्तरको सेवा दिई ५० वर्ष पूरा गरिसकेको होटल सोल्टीले नेपालगन्जपछि पोखरामा सोल्टीकै ब्रान्डमा होटल सञ्चालन गर्नका लागि जग्गा खरिद गरिसकेको छ । उद्घाटन कार्यक्रममा बोल्दै होटल सोल्टीका निर्देशक रविभक्त श्रेष्ठले नेपालगन्जमा खुलेको पाँचतारे होटलले क्षेत्रीय पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुग्ने बताए । ‘संघीयताबाट देशलाई प्रत्यक्ष आर्थिक समृद्धि ल्याउन होटल उद्योग सक्षम रहेको उदाहरण पनि यस होटलमार्फत आगामी दिनमा देख्न सकिन्छ,’ उनले भने ।
सोल्टी वेस्टेन्ड प्रिमियर होटल विश्वका १३५ मुलुकहरुमा परियोजना रहेको ऊर्जा तथा पर्यावरण डिजाइनमा अगुवाईमा आधारित ग्रिन बिल्डिङको अवधारणमा बनेको छ । नेपालमा नै पहिलो पटक ऊर्जा र पर्यावरणको डिजाइनमा बनेको यो होटल वातावरणमैत्री रहेको निर्देशक श्रेष्ठले बताए ।
‘हामीले जडान गरेको नविन प्रविधिमध्ये बिल्डिङलाई तताउने र चिस्याउँने रेडियन्ट प्रविधि पनि यो होटलमा रहेको छ,’ उनले भने । रेडियन्ट प्रविधिले भवन र यसको आसपासको क्षेत्रलाई वातावरणमैत्री बनाउने उनले बताए । ‘हामीले यस्तो प्रविधि पहिलोपटक नेपालमा भित्राएर नयाँ सुरुआत गरेका छौं । यसको अनुभवले अब खुल्ने होटलहरुका लागि पनि प्रेरणा हुन्छ,’ उनले भने ।
८१ वटा रुम रहेको होटलमा प्रारम्भिक लगानी ५५ करोड रुपैयाँ भएपनि पूर्वाधार बढाएपछि १ अर्ब २५ करोड रुपैयाँ लागेको होटलले जनाएको छ । दुई विगाहा क्षेत्रफलमा निर्माण भएको होटलमा विवाह, व्रतवन्ध लगायतका भोजका लागि ८०० जना अट्ने ब्यांकेट हल रहेको होटलमा ३०० जना अट्ने कन्फ्रेन्स हल पनि रहेको छ ।
सोल्टी वेस्टेन्ड प्रिमियर होटलमा सोल्टी होटल र एनई समूहको सिवक्रिम होटल्स एन्ड रिसोर्ट प्रालिको लगानी छ । होटलमा सोल्टी हस्पिटालिटी लिमिटेड, सिविक्रम ल्यान्ड एन्ड इन्ड्रष्ट्रियल कम्पनी र सोल्टी इन्टरप्राइजेज सञ्चालक छन् । सोल्टी इन्टरप्राइजेज होटल सोल्टीकै बहुमत स्वामित्व भएको कम्पनी हो । सोल्टी हस्पिटालिटी, सिविक्रम ल्यान्ड एन्ड इन्डष्ट्रियलको ३० र सोल्टी इन्टरप्राइजेजको ४६ प्रतिशत शेयर छ ।
सोल्टी ब्रान्डमा अन्य होटलको व्यवस्थापन गर्ने
सोल्टी होटलले सोल्टी ब्रान्डमा पर्यटकीय स्तरका होटलको व्यवस्थापन पनि गर्ने भएको छ । काठमाडौंभित्र र बाहिर खुलेका ठूला होटलमा सोल्टीको चेन ब्रान्ड पुर्याउने सोल्टी होटलका निर्देशक रविभक्त श्रेष्ठले बताए ।
‘सोल्टीको बलियो ब्रान्डमार्फत काठमाडौंभित्र र बाहिरका होटलहरुको सम्भाव्यता अध्ययन गरी ती होटल तथा रिसोर्टहरुमा सोल्टीको ब्रान्डमार्फत व्यवस्थापन हेर्ने तयारीमा पनि हामी छौं,’ उनले भने । काठमाडौंबाहिर खुलेका होटल तथा रिसोर्टहरुमा देखिने व्यवस्थापनको अभावलाई यसले ठूलो टेवा पुर्याउने छ भन्नेमा आफूहरु विश्वस्त रहेको उनले बताए ।