हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेडको लापरबाही र कमजोर कार्यसम्पादनका कारण कुलेखानी तेस्राको निर्माण ढिलाइ भएको हो ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । कुलेखानी तेस्रोको ४.२ किलोमिटर मुख्य सुरुङमा पानी हालेर परीक्षण सकिएको र त्रिशूली थ्री एको करिब ५ किलोमिटर मुख्य सुरुङमा बुधबारबाट पानी हाली परीक्षण सुरु गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
‘विभिन्न समस्या झेल्दै रुग्ण बनेका दुई आयोजना निरन्तरको प्रयासपछि निर्माणको अन्तिम चरणमा पुगी विद्युत उत्पादन गर्ने अवस्थामा पुगेका छन्’, कार्यकारी निर्देशक घिसिङले भने, ‘कुलेखानी तेस्रोको मुख्य सुरुङको परीक्षण सम्पन्न गरी पानी भरेर राखेका छौं, यो आयोजनको महत्वपूर्ण माइलस्टोन हो, विद्युत् गृहका टर्बाइन, जेनेरेटरलगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान सम्पन्न गरी परीक्षणको क्रममा छन्, असारअघि नै विद्युत उत्पादनको लक्ष्यका साथ काम भइरहेको छ ।’
हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेडको लापरबाही र कमजोर कार्यसम्पादनका कारण कुलेखानी तेस्राको निर्माण ढिलाइ भएको हो । विद्युत गृह, सुरुङलगायतका सिभिल संरचना निर्माण गर्न ठेक्का लिएको चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पाेरेसनले एकतर्फी ठेक्का तोडेको थियो । यसले गर्दा पनि आयोजनाको निर्माण प्रभावित भएको थियो ।
प्रसारण लाइनको तीनमध्ये दुई वटा टावरको निर्माण सकिएको आयोजना प्रमुख सुभासकुमार मिश्रले जानकारी दिए । ‘विद्युत् गृहका उपकरणको परीक्षणसँगै प्रसारण लाइनको बाँकी एउटा टावर खडा गरी करिब ५ सय मिटर तार तान्ने काम सकिन्छ, प्रसारण लाइनका कारणले विद्युत उत्पादन प्रभावित हुँदैन’, उनले भने ।
मकवानपुरमा निर्माण भइरहेको आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित बहाव र खानी खोलाको थप पानी प्रयोग गर्नेछ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो । नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीमा निर्माण भइरहेको आयोजनाको सुरुको लागत २ अर्ब ३३ करोड रुपैयाँ थियो । आयोजनाको निर्माण अवधि बढेसँगै आयोजनाको लागत ४ अर्ब ६३ करोड रुपैयाँ पुग्ने संशोधित अनुमान छ ।
रसुवा र नुवाकोटमा निर्माण गरिरहेको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् १७ वैशाख (३० अप्रिल २०१९) भित्र ल्याउने गरी काम भइरहेको छ । आयोजनाको बाँध तथा त्यहाँ रहेका गेट, बालुवा थिग्य्राउने पोखरीलगायतका संरचनाको परीक्षण सफलतापूर्वक सम्पन्न भएको घिसिङले जानकारी दिए । उनले मुख्य सुरुङमा पानी हाल्ने प्रक्रिया सुरु भएको बताए । ‘१७ वैशाखभित्रमै एउटा युनिटबाट विद्युत उत्पादन गर्ने गरी आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीले काम गरिरहेका छन्, प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ’, उनले भने । दोस्रो युनिट (३० मेगावाट)बाट असारभित्रमा विद्युत उत्पादनको लक्ष्य राखिएको छ ।
प्रसारण लाइनसहित कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवम् प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैङ्कको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको हो । इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत् गृह, बा“ध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)स“ग १४ जेठ २०६७ (२८ मे २०१०)मा ठेक्का सम्झौता भएको थियो । भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो ।