लघुवित्त संस्थालाई मर्जरमा जान दबाब, राष्ट्र बैङ्कले रोक्यो सबैको हकप्रद सेयर निष्कासन

१८ ओटा लघुवित्त संस्थाले पुँजी बढाउन हकप्रद सेयर निष्कासनका लागि केन्द्रीय बैङ्कसँग अनुमति मागेको उनले जानकारी गराए । हकप्रद निष्कासन गर्न उनीहरुले स्वीकृति नपाउने पौडेलले स्पष्ट पारे । उनले हकप्रद सेयर निष्कासन गर्नुकाे सट्टा लघुवित्त संस्थालाई एक आपसमा गाभ्न (मर्जरमा जान) का लागि जोड दिएको जानकारी दिए ।

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थालाई हकप्रद सेयर निष्कासन गर्न अघोषित रुपमा रोक लगाएको छ । चुक्तापुँजी बढाउन लघुवित्त संस्थाहरुले धमाधम हकप्रद सेयर निष्कासनका लागि स्वीकृति माग्न थालेपछि यसलाई निरुत्साहित गर्न केन्द्रीय बैङ्कले अङ्कुश लगाएको हो ।

औपचारिक निर्णय नभए पनि लघुवित्त संस्थालाई हकप्रद सेयर निष्कासन गर्नका लागि निरुत्साहित गरिएको राष्ट्र बैङ्कका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । क्यापिटल नेपालसँग कुरा गर्दै उनले भने, ‘राष्ट्र बैङ्कले घोषित नभई अघोषित रुपमा लघुवित्त संस्थालाई पुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्न रोक लगाएको छ ।’

१८ ओटा लघुवित्त संस्थाले पुँजी बढाउन हकप्रद सेयर निष्कासनका लागि केन्द्रीय बैङ्कसँग अनुमति मागेको उनले जानकारी गराए । हकप्रद निष्कासन गर्न उनीहरुले स्वीकृति नपाउने पौडेलले स्पष्ट पारे । उनले हकप्रद सेयर निष्कासन गर्नुकाे सट्टा लघुवित्त संस्थालाई एक आपसमा गाभ्न (मर्जरमा जान) का लागि जोड दिएको जानकारी दिए ।

केन्द्रीय बैङ्कले लघुवित्त संस्थाको संख्या घटाउन र मर्जरमा लगेर वित्तीय रुपमा मजबुत बनाउन चाहेको उनको भनाइ छ ।

राष्ट्र बैङ्कले लघुवित्तीय संस्थाको संख्या धेरै भएको भन्दै यसलाई फोर्स मर्जरमा जाने गरी आगामी मौद्रिक नीतिमा विशेष व्यवस्था गर्न लागेको छ । लघुवित्तीय संस्थालाई मर्जर गराएर विकास बैङ्कमा स्तरोन्नति गर्ने आन्तरिक गृहकार्य केन्द्रीय बैङ्कले गरेको छ ।

विकास बैङ्कमा स्तरोन्नति गरेर न्यूनतम ६० करोडदेखि अधिकतम १ अर्ब रुपैयाँसम्म चुक्ता पुँजी पुर्याउने योजना रहेको स्रोतको भनाइ छ । यता झन्डै ४ दर्जन बढी लघुवित्त संस्था खुल्ने लाइनमा छन् । खुल्ने तयारीमा रहेका अधिकांश लघुवित्त संस्था राष्ट्र बैङ्कका कर्मचारीको अप्रत्यक्ष लगानी रहेको स्रोतको भनाइ छ ।

यता प्रवक्ता पौडेलले केन्द्रीय बैङ्कले उनीहरुको प्रस्तावको अध्ययन गरिरहेको जानकारी दिए । राष्ट्र बैङ्कले विजय लघुवित्त वित्तीय संस्था लिमिटेडलाई हालै हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावलाई अस्वीकार गरेको छ ।

संस्थाको गत पुसमा सम्पन्न छैठौं वार्षिक साधारणसभाबाट चुक्तापुँजी बढाएर ३८ करोड ९६ लाख रुपैयाँ पुर्याउनका लागि बोनस सेयर वितरण र त्यसपछि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावलाई पारित गरेको थियो ।

केन्द्रीय बैङ्कले बोनस सेयर वितरण गर्ने मात्र प्रस्ताव पारित गरेपछि हकप्रद निष्कासन रोकिएको संस्थाले जनाएको छ ।