अन्तर बैङ्क ब्याजदरले सीमा नाघ्यो, राष्ट्र बैङ्कले बिहीबार बजारमा १५ अर्ब पठाउने

एक साताअघि निष्कासन गरिएको रिपो बिहीबार बैङ्किङ प्रणालीबाट बाहिरिने, अन्तर बैङ्क ब्याजदरले सीमा नाघेको र एक साताभित्र एनसेलले ३९ अर्ब रुपैयाँ कर तिर्ने सम्भावित अवस्थालाई हेरेर तरलता व्यवस्थापन गर्न केन्द्रीय बैङ्कले रिपो जारी गर्न लागेको हो ।

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले तरलता व्यवस्थापन गर्न बिहीबार बजारमा थप १५ अर्ब रुपैयाँ पठाउने भएको छ । केन्द्रीय बैङ्कले रिपो वित्तीय उपकरणमार्फत बजारमा रकम पठाउन लागेको हो ।

एक साताअघि निष्कासन गरिएको रिपो बिहीबार बैङ्किङ प्रणालीबाट बाहिरिने, अन्तर बैङ्क ब्याजदरले सीमा नाघेको र एक साताभित्र एनसेलले ३९ अर्ब रुपैयाँ कर तिर्ने सम्भावित अवस्थालाई हेरेर तरलता व्यवस्थापन गर्न केन्द्रीय बैङ्कले रिपो जारी गर्न लागेको हो ।

एक साताअघि निष्कासन गरिएको १० अर्ब रुपैयाँको रिपो बिहीबार परिपक्व हुँदै छ । यस्तै अन्तर बैङ्क ब्याजदर बढेर ५.८ प्रतिशतमा पुगेपछि केन्द्रीय बैङ्कले पुनः रिपो गर्न लागेको हो ।

बिहीबार बैङ्किङ प्रणालीबाट १० अर्ब रुपैयाँ राष्ट्र बैङ्कमा आउने भएपछि यसलाई व्यवस्थापन गर्न पुनः १५ अर्ब रुपैयाँ पठाउन लागेको राष्ट्र ऋण विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । उनले एक साताभित्र एनसेलले ३९ अर्ब रुपैयाँ करको रुपमा भुक्तानी गर्ने सम्भावनालाई मध्यनजर गर्दे थप रकम व्यवस्थापन गर्न लागेको स्पष्ट पारे ।

बुधबारसम्म बैङ्किङ प्रणालीमा ३१ अर्ब रुपैयाँ हाराहारीमा तरलता छ । थप १० अर्ब बैकिङ प्रणालीबाट बाहिरिने अवस्था आएपछि थप रकम पठाएको हो । तरलता व्यवस्थापन गरेर बजारलाई सहज बनाउन केन्द्रीय बैङ्कले रिपो जारी गर्न लागेको हो ।

७ दिनका लागि निष्कासन हुन लागेको रिपो वैशाख १२ गते परिपक्व हुने छ । रिपोको ब्याजदर ५ प्रतिशत तोकिएको छ । केन्द्रीय बैङ्कले खुला बजार र ब्याजदर करिडोर उपकरणमार्फत बजारमा तरलता व्यवस्थापन गरिरहेको छ ।